अष्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्वे

|

म्याग्दी : प्रसिद्ध पर्यटकीय एवं धार्मिक तीथस्थल मुस्ताङको मुक्तिनादेखि कास्कीको वीरेठाँटीसम्म बन्न लागेकाे लामो केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ।

अष्ट्रेलियाबाट जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्वे गरिसकिएको र अब डिपिआर तायार गर्न लागिएको मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिएका छन्। चार महिनाभित्र डिपिआर तयार गरिसक्ने गरी काम अघि बढेको उनको भनाइ छ। मुक्तिनाथ दर्शन प्रालिले स्थानीयको समेत लगानीलाई समेटेर केवलकार निर्माण गर्न लागेको हो।

अध्यक्ष सुवेदीले  भने, 'हामीले यस परियोजनालाई मुलुकको समृद्धिसँग जोडिनेमा ढुक्क छौँ। सर्वेदेखि नै अधिकतम प्रविधिको प्रयोग थालेका छाैं। पूर्व-पश्चिम रेलमार्ग र बबइ डाइभर्सनमा मात्रै सरकारले लाइडर सर्वे गरेको थियो। निजी क्षेत्रबाट सञ्चालित आयोजनमा हामीले गरेको लाइडर सर्वे  नै नेपालको पहिलो लाइडर सर्वे  हो।'

केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच एक वर्षअघि समझदारी भएको थियो। करिब ८४ किलोमिटर लामो कास्की, म्याग्दी र मुस्ताङ जिल्लाका ५ गाउँपालिकालाई समेट्ने यस केवुलकार पाँच वर्षभित्र निर्माण सम्पन्न गर्न लक्ष्य लिइएको छ।

कहाँ-कहाँ रहन्छन् स्टेसजन?

८३.८७ किलोमिटर लम्बाइ रहने उक्त केवलकारमा १९ वटा स्टेशन रहनेछन्। शुरुवातको स्टेशन वीरेठाँटी रहने यस केवलकारमा तिखेढुंगा हुँदै म्याग्दीको घोडेपानी, शिख, घार, चारच्याङ, घासा, लेते, कोवाङ, मार्फा, जोमसोम, कागबेनी हुँदै अन्तिम स्टेशन मुक्तिनाथमा रहने गरी सर्वे गरिएको अध्यक्ष सुवेदीले बताए।

‘केवलकारले कास्की र मुक्तिनाथको बीचका अन्य क्षेत्रहरू ओझेँलमा पर्ने चासो आएको छ। तर व्यवहारत यो परियोजनाले समग्र मुलुकसँगै खासगरी गण्डकी र धवलागिरी क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान दिन्छ। सूर्योदय र सूर्यास्तसम्म मात्रै केवलकार सञ्चालन हुन्छ। तल्लो स्टेशनदेखि अन्तिम स्टेशन सम्मको दूरी करिब ४ घण्टाको छ। सूर्यास्तसँगै हरेक स्टेशनमा बक्स अनिवार्य रोकिन्छन्। स्टेशन रहने सबै क्षेत्रमा हरेक दिन पर्यटकको बसाइँ र चहल-पहल हुने निश्चित छ’ उनले भने। 

कहाँ-कहाँबाट चढ्न र ओर्लन पाइन्छ?

यो केवलकार रेखामा रहने स्टेशनहरूमध्ये घोडेपानी, नारच्याङ्ग, लेते, कोबाङ, जोमसोम र कागबेनीमा अनिबार्य रुपमा मानिस ओर्लिएर अर्को केवलकारको बक्समा चढ्नेछन भने अन्य स्टेशनहरूमा व्यक्तिको आवश्यकताका आधारमा ओर्लने र चढ्ने सुविधा रहनेछ। सुरु र अन्त्यसहित आठवटा स्टेशनमा यात्रु अनिवार्य रुपमा झर्नुपर्ने र वक्स परिवर्तन गर्नु पर्नेछ। १० वटामा यात्रुले चाहेको खण्डमा चढ्न र झर्ने गर्न पाउनेछन।

एउटा मात्रै टेक्निकल स्टेशन रहने प्रालिले जनाएको छ। नारच्याङमा प्रस्ताव गरिएको स्टेशनलाई मध्यपहाडी र कालिगण्डकी करिडोर हुँदै भित्रने पर्यटकको प्रस्थान प्वाइन्टको रुपमा हेरिएको छ। द्रूत गति र वातावरणमैत्री यातायात मानिने केवलकारप्रति पछिल्लो समय लगानी कर्ताको चासो बढेको छ।

५० अर्ब लागत, लगानीको अबसर

कुल लागत करिब ५० अर्ब हुने यस आयोजनामा २० प्रतिशत सम्म स्वदेशी लगानी र ८० प्रतिशत वैदेशिक ऋण लगानी हुने प्रक्षेपण गरिएको छ। आयोजनमा प्रभावित क्षेत्रका स्थानीय व्यक्तिसँगै स्वदेशी लगानीकर्तालाई समेत लगानीको लागि आह्वान गरिनेछ। थोरै-थोरै पुँजी भएका लगातीकर्तालाई समेत सामुहिक लगानीको रुपमा आह्वान गरिएको प्रालिका अध्यक्ष सुवेदीले बताए।

यात्रु बोक्ने विश्वकै लामो र हिमालय भेगसम्मलाई समेट्ने यस केवलकारले विश्वर नेपालको प्रचार प्रसार गरी मुलुकको दीर्घकालीन पर्यटन विकासमा टेवा पुग्ने प्रवर्द्धकको भनाइ रहेको छ।

समुदायको चासो बुझ्दै लगानीकर्ता

वीरेठाँटीदेखि म्याग्दीको घोडेपानी हुँदै मुस्ताङको मुक्तिनाथ जोड्ने गरी निर्माण गर्न लागिएको केवलकार परियोजनकाका लगानीकर्ताले आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गर्न थालेका छन्। आयोजनाको निर्माणकर्ता मुक्तिनाथ दर्शन प्रालिका प्रतिनिधिको एक टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ नम्बर वडाकाे घारामा स्थानीय र सरोकारवालासँग छलफल गरेका छन्।

प्रालिका अध्यक्ष सुवेदीको नेतृत्वमा आएको टोलीले दुई वटा वडाका जनप्रतिनिधि र स्थानीयसँग आयोजनाले यस क्षेत्रको पर्यटन विकासमा पार्ने सकरात्मक प्रभाव र पर्यटन विकासको सम्भावनाबारे पनि जानकारी गराएका थिए।

टोलीसँग स्थानीयले पर्यटकीय बस्ती शिख, घार लगायतको क्षेत्रमा अनिवार्य रुपमा स्टेशन राख्नुपर्ने माग गरेका थिए। स्थानीयबासीले स्टेशनसँगै आयोजनामा रोजगारीको अवसर र प्रभावित हुने जग्गाको मुआब्जा दिनुपर्ने माग गरेको अन्नपूर्ण गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए।

गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष बरुवालका अनुसार, मुक्तिनाथ क्षेत्रलाई लक्षित गरी निर्माण गर्न लागिएको केवलकारले अन्नपूर्ण गाउँपालिकामा पर्यटन विकास गर्न थप टेवा पुर्‍याउने भन्दै स्थानीयले आयोजनालाई सकरात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यो केवलकारले कास्कीदेखि सिधै पर्यटकलाई मुक्तिनाथ पुर्‍याउँदा पर्वत, बागलुङ र म्याग्दीमा यसले दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पार्ने भन्दै यस क्षेत्रका कतिपय पर्यटन व्यवसायी र सरोकारवालाले यस आयोजनामा फरक मत समेत राख्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.