कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-९ जमुनाभाणी बादी बस्तीकी राधिका राना २५ वर्षदेखि महाकाली बगरमा प्लाष्टिकले ढाकिएको घरमा बस्दै आएकी छन््।
मजदुरी गरेर साँझ बिहानको गुजारा चलाउँदै आएकी रानासँग स्वामित्वको जग्गा नभएपछि नदीले छाडेको बगरमा अस्थायी छाप्रोमा बस्दै आएकी हुन्। मजदुरी नगरे उनी जस्तै अन्य बादी समुदायको चुल्होमा आगो बल्दैन।
महाकाली बगरमा बालुवा चाल्ने, गिट्टी संकलन र कृषि मजदुरका रुपमा काम गरी बादी समुदायले जीविका चलाउँदै आएका छन््।
भारतीय सीमासुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने काममा रोक लगाउन थालेपछि जीविकोपार्जन गर्ने श्रोतसमेत खोसिन थालेको बादी समुदायका परिवारको दुखेसो छ।
'जुन ठाउँमा जे मजदुरी पाउछौं। त्यस बाटै साँझ बिहानको खर्च मुश्किलले जुटेको छ', पुन्टे बादीले भने, ‘चाडपर्व आए पनि मिठो मसिनो खाने, नयाँ लुगा किन्ने क्षमता हामीसँग छैन।’
बादी बस्तीका गज्जो राना मजदुरी गर्न नपाउँदा कयौं दिन पानी मात्रै पिएर परिवार नै भोकभोकै सुतेको सुनाउँछन्। 'हिउँदमा नदीको बालुवा चालेर धेरथोर कमाई गरेपनि बर्सातका बेला नदीको बहाव बढ्दा बालुवा चाल्न सकिँदैन', उनले भने, ‘हिउँदमा कमाएको पैसाले नै बर्षामा पनि घर खर्च चल्ने गरेको छ।’
मिठो मसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, बर्षमा एक पटक भएपनि रमाइ गर्ने इच्छा पुरा हुन नपाउँदा उनी दिक्क छन्।
'बर्षमा एक पटक जसोतसो किनेको लुगासमेत फाट्न लागेको छ। नयाँ किन्न सक्दैनौं', केशव रानाले भने, ‘टालटुल गरेर लगाउन विवश छौं।’ लुगा किन्ने क्षमता नहुँदा धेरैजनाले नजिकका गाँउबाट लुगासमेत मागेर लगाउँदै आएको बताए।
झोपडीमा प्लाष्टिकको त्रिपाल राखेको धेरै वर्ष भइसक्यो। त्यो पनि फाट्न थालिसकेको छ। नयाँ किन्न नसकेर बर्षातका बेला जीउ जोगाउन मुश्किल हुने गरेको प्रेम बादीले बताए। 'सरकारले सबैका लागि आवास र जग्गाको व्यवस्था गर्न थालेको सुनेका छौं', उनले भने, ‘वर्षौदेखि नदीको बगरमा बस्दासमेत बेवास्ता भएको छ।’
जनप्रतिनिधि आएपछि केही व्यवस्था हुन्छ की भनेर आशामा बसेका बादी समुदायले बस्न गतिलो घरसमेत पाएका छैनन्। झोपडीमा त्रिपाल राखेर बर्षौँदेखि बादी समुदाय त्यस ठाउँमा बस्दै आए पनि सुख दुःख सोध्ने कोही छैन।
जनप्रतिनिधिहरुले बस्दै आएको ठाउँ आर्याटको भएकाले छाड्न बारम्बार भन्दै आएपछि बादी समुदाय झनै चिन्तित छ। 'बस्तीमा बस्दै आएको ३५ वर्ष बढी हुन थालेको छ', जस्मा रानाले भनिन्', ‘सँगै बसेका अन्य समुदायका जग्गा दर्ता भइ जग्गाधनी प्रमाण पूर्जा हात पारेका छन्। हातमा शक्ति हुनेहरूका लागि जे पनि हुन्छ यहाँ। हामीसँग केही छैन। केही भएको छैन।’
'हामी पनि यसै देशका नागरिक हौं', उनले भनिन्, ‘हामीले पनि बंशजको नागरिकता पाएका छौं। सबै नागरिकसरह हामीसँगसमेत व्यवहार हुनुपर्छ। खाने बस्ने, रोजगार, शिक्षाको व्यवस्था गरिनु परयो यहि माग छ।’
साँझ बिहानको छाक टार्न धौधौ पर्ने समुदायले वर्षौँदेखि बस्दै आएको जग्गा छाड्न भनेर बेघर बनाउने षडयन्त्र हुन थालेपछि यसविरुद्ध संघर्षमा उत्रिने बेला आएको बादी समुदायको भनाइ छ।
बस्दै आएको जग्गा दर्ता गरी आवास निर्माण गरिनुपर्ने र बालबालिकालाई रोजगारमुलक शिक्षा दिईनु पर्ने उनीहरुको भनाइ छ। कानुनले दलित भनेर छुवाछुत गर्न निषेध गरेको भएपनि अझै यसै कारणले बादी समुदाय थिचोमिचोमा पर्दै आएकाले यसकोअन्त्य हुनु पर्ने राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारले बताए।
समाजमा पछाडि पारिएको, आर्थिक रुपमा विपन्न, समाजको शोषणमा परेको समुदाय भए पनि अझै न्याय पाउन नसकेको उनको भनाई छ।
सामाजिक, आर्थिक रुपमा पछााडि परेको वादी समुदायका लागि सरकरले छिट्टै आवासको योजना ल्याई सुरक्षित बासको वातावरण बनाउनु पर्ने उनले बताए।
बस्तीका धेरै परिवारका व्यक्ति वर्षौँदेखि विरामी भएका छन्। आर्थिक अभावले उपचार नपाउँदा झोपडीमै बस्न बाध्य छन्। बालबालिकाको विद्यालयको खर्च जुटाउन नसक्दा अभिभावकहरुले बीचमै विद्यालय छुटाएर आफुसँगै मजदुरी गर्नका लागि लग्ने गरेका छन्।
पहाडमा छदा निकै थिचोमिचोको शिकार हुदा सहज जीवनयापनको खोजीमा तराई झरेका बादी समुदायले यहाँ पुग्दा समेत न्याय पाउन नसकेको बताएका छन्। बस्तीमा २५ परिवार बादी परिवारको बसोवास रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।