काठमाडौं : बक्सिङतर्फ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि लाग्दै आएको स्वर्ण पदकको खडेरी २० वर्षपछि तोडिएको छ। मिनु गुरुङ र भूपेन्द्र थापाले २० वर्ष लामो स्वर्णको खडेरी तोडेका हुन्।
सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को हलमा सोमबार भएको भिडन्तमा मिनु र भूपेन्द्र दुवैले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण हाँसिल गरे।
सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए। त्यसयता नेपाल स्वर्णविहीन रहँदै आएको थियो।
देशका लागि स्वर्ण जिताएपछि नेपाल प्रहरीमा कार्यरत भूपेन्द्रले यसअघि दुई पटकसम्म भारतीयसँग हारेको बदल लिएको प्रतिक्रिया दिएका छन्। उनी यसअघिका भिडन्तमा दुई पटकसम्म भारतीयसँग पराजित भएका थिए।
'आज मैले दुई पटकसम्मको हारको बदला लिने अवसर पाएँ, त्यसलाई सदुपयोग गर्दै चाहे अनुसारको नतिजा निकालेँ', भूपेन्द्रले थाहाखबरसँगको छोटो कुराकानीमा भने।
भूपेन्द्रले यो स्वर्ण पदक आफ्नी आमालाई समर्पण गर्ने बताए। 'यो स्वर्ण पदक म मेरी आमालाई 'डेडिकेटेड' गर्न चाहन्छु', उनले भने, 'यो पदक आमाकै लागि हो।'
भूपेन्द्र २०६८ सालदेखिका नेशनल च्यान्पियन हुन्। उनी विगत सात वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै आएका छन्।
भूपेन्द्रले स्वर्ण जितेपछि... तस्बिरहरु : शिला तिमल्सिना
तपाईंको ईमेल गोप्य राखिनेछ ।