|

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रुपन्देहीकै पहिलो थारू होमस्टे सञ्चालनमा आएको छ। वडा नं १३ स्थित सेमरीमा तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा होमस्टे सञ्चालनमा आएको हो।

तिनाउ नदीको किनारमा रहेको उक्त गाउँमा सञ्चालन गर्न लागिएको उक्त होमस्टेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे।

उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले थारू समुदायको कला र संस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले होमस्टे सञ्चालन गरिएको बताए। उनले होमस्टेको संवद्र्धन र प्रवद्र्धन नगरपालिकाले गरेको पनि जानकारी दिए।

तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए। आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गरिने उनले बताए। होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए।

थारू समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकै पुरानोमध्येको बस्ती हो। पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरूले समेत यहाँ सेल्टर लिएको यहाँका पुराना पाकापुस्ता बताउँछन्। तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले थारू समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गरिन्। 

उनले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाइन्। तिलोत्तमा नगरपालिकाले थारू समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए।

नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन्। सेमरीका बासिन्दाहरु अमलटारी होमस्टे सञ्चालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरूलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो। सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्मलगायत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.