|

बुटवल : नगर प्रहरीले ज्यादती गरेको भन्दै बुटवलका फुटपाथमा पसल संचालन गरेका श्रमिक मजदुरले बिहीबार प्रदर्शन गरेका छन्।

नगर प्रहरीले पसल संचालन गर्न नदिई कुटपिट नै गरेपछि यहाँका स्वरोजगार श्रमिकले प्रहरी ज्यादती रोक्न माग गर्दै प्रदर्शन गरेका हुन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आयोजनामा गरिएको प्रदर्शन बुटवल बसपार्कबाट सुरु भई पुष्पलाल पार्क, ट्राफिक चोक हुँदै नगरपालिकामा पुगेको थियो।

बुधबार नगर प्रहरीको टोलीले सडकको फुटपाथभन्दा बाहिर बदाम बिक्री गर्दै गरेका स्वरोजगार कृष्ण अर्यालमाथि कुटपिट गर्दा उनलाई गम्भीर चोट लागेकोले आफूहरू प्रदर्शनमा उत्रिनुपरेको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए। संघका अध्यक्ष विष्णु पाण्डेले आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म सघर्ष जारी रहने बताए।

नेपालीले आफूहरू स्थानीय सरकारले उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे। उनले भने, ‘हामीले फुटपाथ ओगटेर बसेका छैनौँ। फुटपाथ बाहिर हाम्रो ठेला, रिक्सा हुन्छ। हामीले पनि परिवार पाल्नुपर्‍यो । गरिखाने बाटो खोस्ने कस्तो सरकार आएको हो?’

बुटवलमा झण्डै एक हजार स्वरोजगार मजदुर छन्। बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै बुटवल उपमहानगरपालिकाले बसपार्क साइडमा ठेला रिक्सामा सामान बिक्री गर्न दिएको छैन। आन्तरिक राजश्व कार्यायको साइडतर्फको फुटपाथ छाडेर बिक्री गर्न छुट दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.