न धोइन्छ गाडी न उठाइन्छ फोहोर?

|

काठमाडौं : कुमार श्रेष्ठ रत्नपार्कदेखि भक्तपुर जान माइक्रो चढे। अगाडिको सिट च्यातिएको कारणले पछाडि गएर बसे। 'सार्वजनिक यातायातको अवस्था यस्तो छ, सरकारले जारी गरेको भ्रमण वर्ष कसरी हुन्छ,' उनले भने।

सबै पर्यटकले होटल र ट्राभलको सवारीसाधन प्रयोग नगर्ने उनले बताए। उनले भने,' घुमन्ते पर्यटकले सार्वजनिक यातायातको प्रयोग गर्छन्। त्यस्तो बेलामा सफा सवारीसाधन हुनुपर्छ। पर्यटकले सधैँ सफा सुग्घर मनपराउँछन्।'

गाडी सफा राख्नलाई व्यावसायी र सरकार नै जिम्मेवार हुनुपर्ने उनको धारणा छ। पर्यटक जब सडकमा निस्कन्छन् तब उनीहरूको आँखा सवारीसाधनमा पर्छ।

'यातायातको साधन देख्नेबितिकै सफा र चढौँचढौँ जस्तो लाग्ने हुनुपर्छ,' उनले भने। मुलुकभर सञ्चालन हुने सार्वजनिक यातायातको अवस्था राम्रो नरहेको उनको भनाइ छ। सार्वजनिक यातायातको कारणले भ्रमण वर्षलाई केही असर पर्न सक्ने उनले सुनाए।

उपत्यकाभित्र सञ्चालन हुने अधिकांश सार्वजनिक यातायातमा भ्रमण वर्षको स्टिकर टाँसिएको छ। यसले भ्रमण वर्षको प्रचार त गर्ला तर, प्रचार पर्यटकको लागि गर्ने हो त्यसभित्र भनेजस्तो सेवा सुविधा नपाउने हो भने प्रचार गरेको महत्व नरहेको उनले बताए। 'उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको साधनले नेपाल भ्रमण वर्षलाई जिस्काइरहेको छ,' उनले भने।

'बाहिर गाडीमा तामझाम भित्र फोहोर र कहिल्यै नधोएको सिटका खोल छन्,'श्रेष्ठले भने,' पर्यटक खुसी हुने होइन कि झन दुःखी हुन्छन्। सरकार र व्यावसायीले यसमा ध्यान दिनुपर्छ।'

यात्री पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। 'गाडीमा थुक्ने र खैनीको खोल फालेर फोहोर गरिरहेका छन् यसमा सबै पक्ष जिम्मेवार हुनुपर्छ,' उनले भने।

अनुगमन थालेका छौँ : एसएसपी ढकाल

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले चालक र सहचालकले विनम्रतापूर्वक यात्रीलाई व्यवहार नगरेको पाइएमा कडा कारबाही गर्ने बताएका छन्। भ्रमण वर्षलाई लक्षित गरी ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमन थालिसकेको उनले बताए।

'सवारी साधनको सिट सफा हुनुपर्छ। सबै पर्यटक होटल र ट्राभलको गाडीमा हिडदैनन,' उनले भने पर्यटक देशका जीवन र संस्कृति बुझ्न आउँछन। उनीहरुले प्रयोग गर्ने भनेको नै यातायातको साधन हो।' सिट सफा नभएर कार्वाही गर्ने त्यसको अनुगमन चाँडै गरिने उनले जानकारी दिए। यातायातका साधन सभ्यताको सूचक रहेको उनले स्पष्ट पारे। त्यसका कर्मचारी अझ जिम्मेवारी हुनुपर्ने उनको धारणा छ। 

सरकारले नेपाल भ्रमण वर्षको सुरुवात गरेको छन् त्यसलाई सहयोग गर्नलाई यातायात व्यवस्था कार्यालयले सधा सहयोग गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमाल बताउँछन्। उनका अनुसार यात्रु बोक्ने गाडी सफा गरेर बिहानैदेखि लानुपर्छ। कुनै पनि यात्रुले उभिएर यात्रा नगर्ने व्यवस्था मिलाउँछौँ। उभ्याएर यात्रा नगराउनलाई यातायात व्यावसायीलाई आग्रह पनि गरिसकेका छौँ।

यातायातका साधनहरू सफा बनाएर चलाउनुपर्छ, सिटका खोल फोहोर छन् भने दैनिक धोएर लगाउनुपर्छ उनले भने,' रंगरोगन गरेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्छ।' नियम अवज्ञा गरे कारबाही गरिने उनले जानकारी दीए। व्यवसायीलाई भ्रमण वर्षलाई लक्षित गरी एकपटक बैठक बसी छलफल गर्ने उनले स्पष्ट पारे।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले नेपाल भ्रमण वर्ष मनाउने सरकारले घोषणा गरिसकेको बताए। यसमा व्यावसायीले पूर्णरूपमा सहयोग गर्ने उनको भनाइ छ।

'यातायातका साधन दैनिक सञ्चालन हुनुभन्दा अगाडि बिहानै सफा सुग्घर गरेर चलाइरहेका छन्,' उनले भने,' सफा नगरी नचलाए यात्रु नचढे उनीहरूलाई घाटा लाग्छ।' यात्रुहरूले पनि बस वा माइक्रोमा चढेपछि गाडीभित्र चक्लेट खाएर खोल फाल्न र थुक्न नहुने उनले बताए। यसमा सरकार, यात्रु र व्यावसायी सबै जिम्मेवार हुनुपर्ने उनले प्रष्ट पारे।

सरकारले पनि यातायात व्यावसायीको गल्ती देखाउने मात्र गर्न नहुने उनको भनाइ छ। 'सडकका खाल्डाखुल्डी पुरेर सडक निर्माण गरेर यातायातको साधनलाई गुडने वातावरण निर्माण गरेर सरकारले सहयोग गर्नुपर्छ,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.