तराई-मधेसमा पनि लगानी बढाउन नेताहरुको आग्रह

|

काठमाडौं : नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको प्रतिनिधिमण्डलले तराई-मधेसमा लगानी बढाउने प्रतिबद्धता गरेका छन्।

'ब्यूरो फर साउथइस्ट एसियन अफेयर्स इन्टरनेश्नल डिपार्टमेन्ट, सेन्ट्रल कमिटी कम्युनिष्ट पार्टी अफ चाइना'को प्रतिनिधिमण्डले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष राजेन्द्र महतोसहितको नेतृत्वसँग भेट गरी प्रदेश २ सहित तराई-मधेसमा लगानी बढाउने प्रतिबद्धता जनाएका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीका एसिया ब्युरोका जनरल डाइरेक्टर मा सियु सङ तथा नेपाल-भारत विभागका निर्देशक च्याङ ज्यू क्विङसहितको टोलीले राजपाको पार्टी कार्यालय बबरमहलमा राजपाका नेताहरुलाई भेट गरेर तराई-मधेसमा गहिरो चासो देखाएको हो।

चिनियाँ टोलीले राजपाका संयोजक राजेन्द्र महतो र अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरसँग भेट गरेको हो। भेटका क्रममा राजपाका नेताहरुले चीनले सन्तुलित लगानी गरोस् भन्‍ने चाहना राखेका थिए। भारतनिकट मानिने मधेसवादी नेताहरुसँग पार्टी कार्यालयमै चिनियाँ अधिकारीहरुले गरेको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

चीनले पहाडी क्षेत्रमा मात्रै लगानी गरिरहेको सन्दर्भमा तराई-मधेसमा पनि लगानी बढाएर सन्तुलन मिलाउन राजपा नेताहरुले आग्रह गरेका छन्। राजपाका नेताहरुले तराई-मधेसको विकासमासमेत चीनले लगानी बढाउनुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ।

राजपा संयोजक राजेन्द्र महतोले भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेट नेपाल-चीन सम्बन्ध र विकासका सन्दर्भमा केन्द्रित भएको थाहाखबरलाई बताए।

‘मुख्यरुपमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, नेपालको विकासमा चीनले गरेको योगदानबारे चर्चा भयो', उने भने, 'आगामी दिनमा अझै महत्वपूर्ण भूमिका र सहयोग रहने अपेक्षा हामीले गरेका छौँ। उहाँहरुले छिमेकी देशको नाताले नेपालमा विकास र स्थिरता होस् भन्‍ने चाहना व्यक्त गर्नुभयो।'

भेटका क्रममा नेपालको राजनीतिक स्थिरतामा चिनियाँ प्रतिनीधिमण्डलले जोड दिएको छ। ‘नेपालका राजनीतिक पार्टीहरुसँग उनीहरुले सम्बन्ध सुदृढ र विश्वसनीय बनाउन खोजेको महतोले बताए।

'नेपालसँग सम्बन्ध अझै मजबुत बनाउने रणनीति अनुसार चिनियाँ अधिकारीहरुले हामीसँग भेट गर्नु भएको हो', उनले भने, 'नेपालका अन्य राजनीतिक पार्टीसँग पनि यो पटक वार्ता भएको रहेछ। त्यहीक्रममा राजपासँग संवाद भएको हो।'

भेटक्रममा स्वतन्त्र तिव्बतबारेमा कुनै कुराकानी नगरेको नेता महतोले बताए। 'त्यसबारेमा दुवै पक्ष प्रवेश गरेनौँ', उनले भने, 'हामीले तराई-मधेसमा लगानी तथा सम्बन्ध विस्तारलाई जोड दियौँ।'

महतोले नेपालको समग्र विकासका लागि सन्तुलितरुपमा सबै क्षेत्र र भूगोलमा लगानी बढाउने बिषयमा चिनियाँ टोली सकारात्मक देखिएको पनि जानकारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.