दाङ : थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएकाले मोर्चाले फागुन २० र २१ मा नवलपरासीदेखि कञ्चनपुरसम्म आम हडताल गरेको हो।
संघर्षका विभिन्न कार्यक्रम गर्दै आए पनि सरकारले माग पूरा नगरेपछि दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको मोर्चाले जनाएको छ। पुस २२ गते नेपाल सरकारसँग १४ बुँदे माग राखी पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि मागप्रति सरकार संवेदनशील र सकारात्मक हुन नसकेकाले आमहडतालको घोषणा गर्नु परेको मोर्चाका जिल्ला संयोजक जनकुलाल चौधरीले बताए।
आमहडतालका क्रममा कलकारखाना,उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारीसाधान, ढुवानीका साधन पूर्णरुपमा बन्द रहने जनाइएको छ। तर, अत्यावश्यक सवारीसाधनहरु दमकल, एम्बुलेन्स, शववहान, सुरक्षा निकायका सवारी साधन, दुध बोक्ने वहान, औषधि बोक्ने वहान, रेडक्रस, मानवअधिकारकर्मी, पत्रकार, पर्यटक र कूटनीतिक नियोगका सावारी साधान निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ।
मोर्चाले टिकापुर घटनाको योजनाकारका रुपमा थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीलगायतका ११ जना बन्दीहरुलाई विनाशर्त रिहा गर्नु पर्ने माग प्रमुख रुपमा अगाडि सारेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।