अर्का युवा किरिया बसेका छन्
अर्का युवा किरिया बसेका छन्
बागलुङ : चैत ४ गते कतारबाट आएका मध्यढोरपाटन नगरपालिका ५ का एक युवा भोलिपल्ट घर पुगे। काठमाडौंमा एक रात बसेपछि उनी अधिकारी चौर पुगेका थिए। काठमाडौंबाट बस चढेर बुर्तिवाङ पुग्दा उनीसँग अर्का एक साथी पनि थिए। ढोरपाटन नगरपालिका ७ का उनी परिवारका सदस्यको मृत्यु भएकोले किरिया बस्न आएका हुन्।
कतारबाट आएका युवा अहिले पनि घरमै छन्। जुन जहाजमा उनी आएका थिए, त्यही जहाजमा आएकी काठमाडौंकी एक युवतीलाई कोरोना भाइरस (कोभिड१९)लागेको पुष्टि भइसकेको छ। उनी आएकै जहाजमा आएकोले ती युवा पनि संक्रमित हुन सक्ने भन्दै धेरै शंका र डर बढेपछि मंगलवार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली उनको घरैमा पुगे।
नेपालीसँग प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका डा. मिलन मल्ल, इलाका प्रहरी प्रमुख र वडाध्यक्षसमेत घरमा पुग्दा ती युवा सामान्य अवस्थामा थिए। उनलाई सामान्य रुघाखोकीको लक्षण पनि देखिएको छैन। सामान्य अवस्थामा देखिएपछि डा.मल्लले उनलाई कोरोना प्रकोपबारे जानकारी गराए। युवाको घरमा बस्ने छुट्टै सानो भवनसमेत भएकोले सात दिनसम्म छुट्टै बस्न सुझाव दिएको मल्लले बताए।
‘लक्षण नदेखिए पनि होम क्वारेन्टाइन बनाएर सात दिन बसिदिनुहोस् भन्यौं’, मल्लले भने, ‘आफ्नो र परिवारको सुरक्षाका लागि पनि त्यो आवश्यक छ भन्ने बुझायौं,’ विश्व नै कोरोना संक्रमणबाट आतंकित भएकोले हरेक नागरिकले सचेतना अपनाउनुपर्ने उनले सुझाए। सात दिनभित्र केही लक्षण देखिएमा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन उनले सुझाव दिएपछि टोली फर्केको थियो।
अर्का युवा परिवारको किरियामा छन्
बोबाङका अर्का युवा परिवारको सदस्यको किरियामा बसेका छन्। चैत १४ गते मात्र उनी किरियाबाट उठ्न मिल्ने बताइएको छ। काजक्रिया भएर हो उनले कसैलाई छोएका छैनन्। बरु उनको अवस्था पनि होम क्वारेन्टाइन जस्तै छ,’ नेपालीले भने, ‘क्रिया उम्केपछि पनि थप चार पाँच दिन बाहिर नजान र केही लक्षण देखिए स्वास्थ्यकर्मीलाई खबर गर्न भनेका छौं।’ दुवै जना स्वस्थ्य भएकोले अहिलेसम्म सुरक्षित भएको उनले बताए।
सामाजिक सञ्जालमा आएझैं उनीहरु बिरामी भएको, अस्पताल भर्ना भएको भन्ने कुरा असत्य भएको उनले बताए। नेपालमा पनि छिटफुट संक्रमित देखिन थालेपछि नेपाल सरकारले लकडाउन गरेको छ। यो अवधिमा नागरिकलाई घरबाट बाहिर नजान भनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।