|

डडेल्धुरा : कैलालीको लम्कीचुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै उनलाई भेटेका ५४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। 

उनीसँगै वीरगञ्‍जबाट आएका २६ र क्‍वारेन्टाइनबाट घर पुगेपछि उनलाई भेटेका थप २८ सहित ५४ जनालाई क्‍वारेन्टाइनमा राखिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्‍नेतका अनुसार उनीहरूलाई  सबैलाई लम्की बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको छ।

महिलासँगै वीरगञ्‍जबाट २६ जना कैलाली आएका थिए। लम्कीचुहा नगरपालिका १ का १७ जना, वडा नं. ८ का ४ जना र बर्दगोरी गाउँपालिका वडा नं. १ का ५ जना संक्रमित महिलासँगै आएका डीएसपी बस्नेतले बताए।

उनीहरू सबैलाई फेरि क्‍वारेन्टाइनमै लगिएको हो। संक्रमितको सम्पर्कमा रहेका अन्यकोसमेत खोजी भइरहेको उनले जानकारी दिए।

डीएसपी बस्नेतका अनुसार कैलाली पुगेका २६ मध्ये २२ जना संक्रमितका आफन्त थिए। परिवारका सदस्य मात्रै चार जना थिए। वीरगञ्जबाट ३४ जना आएका थिए। त्यसमा सुर्खेतका ५ तथा अर्घाखाँची, दाङ र दैलेखका १-१ जना थिए।

वीरगञ्‍जमा परिवारसहित चिया पसल गर्दैआएकी उनी चैत १८ गते बिहान त्यहाँबाट कैलाली आइपुगेकी थिइन्। यसअघि श्रीमान, एक नाति र नातिनी र उनी गरि ४ जनालाई लम्कीचुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको थियो।

उनमा र्‍यापिड टेष्टबाट कोरोना परीक्षण गरिएको थियो। तर उक्त परीक्षणमा संक्रमण नेगेटिभ देखिएपछि २८ गतेबाट घरमै बस्‍न पठाइएको थियो। पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना 'पोजेटिभ' देखिएको थियो।

योसँगै सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका लम्कीकै एक पुरुष र भारतबाटै फर्किएका कञ्‍चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। उनीहरू सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.