|

म्याग्दी  : म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट स्थायी घर भई हाल  काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.सागर राजभण्डारी पछिल्लो समय कोरोनाविरुद्धको युद्धका कमाण्डरका रूपमा चिनिन थालेका छन्।

डा.राजभण्डारीको नाम हिजोआज नेपाली सञ्चारमाध्यममा छाइरहेको हुन्छ। पछिल्लो डेढ महिनायता बिहानदेखि बेलुकीसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा व्‍यस्त हुने राजभण्डारीले कोरोना भाइरससम्बन्धी तथा अस्पतालभित्र भइरहेका गतिविधिलाई सञ्चारमाध्यममा जानकारी गराउनसमेत खटिन्छन्।

अस्पतालमै बिरामीको चाप बढिरहेको अवस्थामा देशभरबाट कोरोनासम्बन्धी जिज्ञासा मेट्ने जिम्मेवारीसमेत उनको काँधमा छ।

विश्वभर कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा संक्रमणको जोखिमलाई मध्यनजर गरी डेढ महिना अगाडि राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक रहेका राजभण्डारीलाई स्वास्थ्य मन्त्रालयले टेकु पठाएको थियो।

 चिकित्सा क्षेत्रमा लागेपछि अधिकांश मोफसलमै बसेर सेवा दिएका राजभण्डारीले अहिले बिरामीको उपचारदेखि कोरोना भाइरससम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने प्रयासमा छन्।

‘अहिले धेरै समय सेवामै खटिनुपर्छ,‘बिरामीसँगै मोबाइलमा आउने कलहरूलाई पनि तत्कालै जवाफ दिनुपर्ने अवस्था छ’राजभण्डारीले टेलिफोनमा भने।

सरकारी संयन्त्रबाहेक विभिन्न सञ्चारमाध्यमलाई दैनिक कोरोनाको अपडेट, बिरामीका आफन्तलाई भेट्ने, क्वारेन्टाइन र आइसोलेसनमा रहेकाको अवस्थाबारे जानकारी लिनसमेत मिलाउनुपर्ने उनको भनाइ छ।

 ‘पेसाको नियमित कामभन्दा ठूलो जिम्मेवारी छ, बिरामीभन्दा भेट्न आउनेहरू धेरै चिन्तित देखिन्छन्’ राजभण्डारीले भने। देशका विभिन्न जिल्लाहरूबाट चिनजानका मान्छेहरुले समेत तथ्य सूचना पाइने आसमा कोरोना संक्रमितको अवस्थाबारे जानकारी लिन फोन गर्ने गरेका उनले बताए।

 उनले अञ्चल अस्पताल बागलुङमा रहेका दुईजना संक्रमितलाई उपचारमा समेत फोनबाटै चिकित्सक र स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्ने गरेको बताए।

‘बागलुङमा बेला–बेलामा फोन गरेर सम्झाउँछु,त्यहाँ मैले पनि धेरै मिहिनेत गरेको थिएँ’ राजभण्डारीले भने। उनले अस्पतालमा सुविधा र उपकरणहरु पठाउन खेल्न सक्ने भूमिकासमेत खेलेका छन्।

अञ्चल अस्पतालमा थपिएका सुविधामा जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमा बधाई खाइरहे पनि उनले आफ्नो भूमिका निर्वाह गरेका थिए।

मेडिकल सुपरिटेण्डनको रुपमा कार्यरत रहँदाको अवस्थामा सल्यान, दाङलगायत अन्य केही जिल्लामा समेत त्रसित नहुन र संक्रमणको जोखिमबाट जोगाउन सबै शक्ति प्रयोग गर्न चिकित्सकलाई प्रोत्साहन गर्ने गरेको उनको भनाइ छ।

यतिबेला कोरोना आशंकामा अस्पतालमा स्वास्थ्य जाँचका लागि पुग्नेको संख्या बढी नै छ। सामान्य फ्लूका बिरामीलाई पनि कोरोना आशंकामा रिफर गर्ने अवस्था भएकाले चिकित्सकसहित सम्पूर्णलाई मनोसामाजिक परामर्श आवश्यक देखिएको निर्देशक राजभण्डारीको तर्क छ।

गाउँदेखि शहरसम्म खटिएका राजभण्डारी

बागलुङ जिल्लाको राङखानी हेल्थ पोष्टबाट विस २०४१ सालमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका राजभण्डारीले म्याग्दी अस्पतालमा समेत २०५९ सालमा अस्पताल प्रमुखको जिम्मेवारी पाएका थिए।

उनले आफ्नै जिल्लामा अस्पताल प्रमुखको जिम्मेवारीमा काम गर्दा तत्कालीन समयमा पिता गोविन्दराज भण्डारीले अस्पतालमै पुगेर दिएको बधाईलाई अझै सम्झिन्छन्। प्रधानपञ्चसमेत रहेका पिताले आफ्नै जिल्लामा सेवा गर्नुपर्छ भन्ने सन्देश पटक–पटक सम्झिन्छन्। उनी २०६३ सालमा समेत म्याग्दी अस्पतालमै कार्यरत थिए।

अञ्चल अस्पताल बागलुङमा करिब ३ वर्षसम्म सेवा दिएका राजभण्डारीले सरुवा रोगबाहेक अप्रेसन सेवाबाट समेत धेरैको ज्यान जोगाएका थिए। सानो स्वास्थ्य समस्या देखिए पनि पोखरा जानुपर्ने समस्यालाई राजभण्डारीले तोड्ने प्रयास गरे।

 राजभण्डारीले मोफसलबाटै सेवा दिँदा धेरै सिक्ने अवसर मिलेको बताए। आफ्नो जन्म जिल्ला म्याग्दीलाई समेत आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको राजभण्डारीको भनाइ छ। उनले पछिल्लो समय कोरोना भाइरसको संक्रमणभन्दा फोबियाले थप समस्या पार्ने अवस्थालाई रोक्नुपर्ने अवस्था रहेकाले जिल्लामा कुनै समस्या परेमा सम्पर्क गर्नसमेत अनुरोध गरे।

‘टोल–टोलमा टेष्ट गर्नुपर्छ’

काठमाडौंमा थप दुई संक्रमित देखिएपछि जिल्लाहरूमा समेत आइडिटी टेष्टको दायरा फराकिलो बनाउनुपर्ने डा. राजभण्डारीको भनाइ छ।

कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण टोल टोलमा पुगेर गरिनुपर्ने अवस्थामा म्याग्दी जिल्लामा समेत उक्त कार्यको प्रयासमा सरोकारवालाहरू लाग्नुपर्ने उनको भनाइ छ। संक्रमणको आशंका भएकाको परीक्षण गर्ने किट हुने भएकाले त्यसको प्रयाप्त व्‍यवस्थापन गरी सर्वसाधारणलाई ढुक्क बनाउनुपर्छ।

 जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्दै तत्कालै गाउँ–गाउँमा पुर्‍याउन आवश्‍यक रहेको उनको भनाइ छ।

विदेशबाट फर्किएकासँगै सामान्य रुघाखोकी लागेका बिरामीलाई स्वास्थ्यचौकीमै उपचार गर्नुपर्ने बताए। कोरोनाविरुद्धको युद्धमा होमिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सबै खालका हतियारहरू (स्वास्थ्य सामग्री) उपलब्ध गराउनुपर्ने बताए। यो समयमा काम गर्नेहरुको मूल्यांकन भविष्यमा हुने डा. राजभण्डारीको तर्क छ।

यो पनि पढनुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.