|

दमक : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चरणबद्धरुपमा लकडाउन लम्ब्याई रहँदा जनजीवन कष्टकर बन्दै गएको छ। विश्वव्यापी आवश्यकताका आधारमा सरकारले लकडाउन थपे पनि सर्वसाधारणले यसको पालना गरिरहेका छन्। लकडाउन पालनासँगै विभिन्न पेसा र व्यवसायमा आवद्धहरु भने फरक दैनिकीमा अभ्यस्त हुने प्रयासतर्फ लागेका छन्।

झापाको झापा गाउँपालिकास्थित दयालधापका काजी राउत झापाकै दमकमा होटल व्यवसाय गर्छन्। तर कोरोनाका कारण व्यसाय शिथिल हुँदै गएपछि उनी लकडाउन शुरु हुनभन्दा दुई दिन अघि घर पुगे। लकडाउनको पहिलो साता परिवारसँगै रमाइलोमा बिते पनि त्यसपछि भने उनी दैनिकीलाई सहज बनाउने प्रयासमा जुटेका छन्।

बाँसका विभिन्न सामाग्री बनाउने उनको पुरानो सिप अहिले उपयोगमा आएको छ। ‘एक दशक म बाँसबाट डोका, र्‍याक, फूलदानी जस्ता समानहरु बनाउँथे तर यो काम छोडेको धेरै भइसकेको थियो’ आफ्नो नियमित व्यवसायलाई बन्द गरेर घरमा बसेका राउतले भने–‘अहिले त्यहि पुरानो सीप उपयोगमा आएको छ, गाउँघरबाट पनि यस्ता सामाग्रीको माग आउन थालेको छ।’ लकडाउनको समय बिताउने बहानाको रुपमा प्रयोग गरेका शिपले अहिले आम्दानीको बाटोसमेत देखाउन थालेको छ।

यस्तै, झापाकै कमल–६ का शिक्षक दीपक खड्काले पनि लकडाउनका १० दिन जति परिवारसँगै रमाईलो गरेर बिताए। तर त्यसपछि त्यसै बसि रहन झनै गाह्रो भयो। अहिले उनी चैते धान गोडमेल तथा खेतीका अन्य काममा व्यस्त हुन थालेका छन्।

‘आफूले नगर्दा यही काम खेताला लगाउनुपर्ने हुन्थ्यो’ उनले भने–‘खेतीको कामले लकडाउनको सकसपूर्ण समय बिताउन सजिलो भएको छ भने आफ्नो काम आफैँ गर्दा खेताला लगाउनु पर्ने पैसा पनि जोगिएको छ।’

अध्ययन रुचि भएका नेपाल बैंक गौरीगञ्ज शाखामा कार्यरत दयाराम खड्काले यो समयलाई आफूलाई मन परेका पुस्तकहरु अध्ययनमा उपयोग गरे। तर दुईसाता लगातार अध्ययन् पछि उनले पनि दैनिकीमा खेतीलाई जोडे। कार्यालय समय घटेर दैनिक ३ घण्टाको भए पछि बाँकी समय अध्ययनमा बिताएका उनले अहिले भने खेतीमा पनि समय दिन थालेका छन्।

‘छोटो समय कार्यालय गइन्छ, बाँकी समय अध्ययनमा बिताइयो’ खड्काले भने, ‘तर अध्ययनमा पनि धेरै समय केन्द्रित हुन गाह्रो भएपछि साँझ बिहानको समय खेतीमा बिताउने गरेको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.