|

डडेल्धुरा : विश्वभर कोरोना भाइसर (कोभिड–१९) को सन्त्रास बढिरहेको छ। नेपालमा पनि कोरोना संक्रमित भेटिएपछि अहिले देश लकडाउनमा छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याएको छ।

शहर–बजारमा लकडाउनको प्रभाव परे पनि गाउँघरमा किसान आफ्नै खेतमा व्यस्त छन्। अहिले जिल्लाका विभिन्न स्थानमा हिउँदे बाली भित्र्याउने चटारो परेको छ। व्यावसायिक रूपमा खेती गरिरहेकाहरू पनि आफैं बारीमा पसिना बगाइरहेका छन्। लकडाउनको समयमा अन्त कतै जान नपाउने भएपछि उनीहरू आफ्नै बारीमा बढी केन्द्रित भएका हुन्।

डडेल्धुराको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका–४ कटालका २७ वर्षीय ओमप्रकाश जोशी बारीमा पसिना बगाइरहेका छन्। बारीमा लगाएको टमाटर, काक्रालगायतको गोडमेलमा व्‍यस्त छन् ओमप्रकाश।

उनले एक बिघामा आधुनिक तरिकाले तरकारी खेती गरेका छन्। उनले टमाटर, काक्रा, बन्दा, फर्सी, सिम्ला मिर्च, बैगन, खुसार्नी, धनयाँ, लसुनलगाएका छन्। तिनको गोडमेल गर्नु उनको दैनिक हो। साथै उनले ६० दिनमा फल्ने मकै  पनि आफ्नो बारीमा लगाएका छन्।

विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्न जुटेका छन् जोशी। दुई वर्ष इजरायलमा कृषिसम्बन्धी काम गरेका उनी त्यहाँबाट फर्किएपछि गाउँमै कृषि कर्ममा लागिरहेका छन्।

परशुराम नगरपालिका–४ कटाल घर भएका ओमप्रकाश दुई वर्षअघि सोही ठाउँको साना किसान सहकारी संस्थामार्फत ११ महिने कृषि प्राविधिक तालिममा सिफारिस भई इजरायल गएका थिए।

११ महिना इजरायलको बसाइपश्चात स्वदेश फर्केका ओमप्रकाश हाल आएर आफूले सिकेको आधारमा आधुनिक तरिकाले तरकारी खेती गरिरहेका छन्। बिबिएसको अध्ययन सकेका उनले अहिले एक बिघा जग्गामा खेती गरिरहेका छन्।

एक लाख ६० हजारको आलु बिक्री

यसअघि उनले आलु खेती गरेका थिए। उनले ‘मल्चिङ विधि’ प्रयोग गरेर आलु फलाएका थिए। ४० क्विन्टल जति आलु उत्पादन गरेर बेचेको उनले बताए। ‘गत वर्ष एक लाख ६० हजारको आलु बेचें।’ उनले भने, ‘अन्य सबै खर्च कटाएर ८० हजारजति बचत गरेको छु।’

टमाटर फलाउँदै

गत वर्ष लाखौंको आलु बेचेका ओमप्रकाश अहिले टमाटर फलाउनमा ब्यस्त छन्। हाल उनले एक सय ५० बोट टमाटर रोपेका छन्। उनले माघ अन्तिमतिर टमाटर रोपेका हुन्।

एक बोटमा २५ देखि ३० किलो टमाटर फलाउने लक्ष्य उनको छ। ‘माघ अन्तिम तिर इजरायली प्रविधिबाट टमाटर रोपेको। अहिले तेस्रोपटक टमाटर लिखो गरिरहेको छु। लकडाउनको समयलाई आफ्नै बारीमा सदुपयोग गरिराखेको छु।’ उनले भने,‘एक बोटमा ३० किलोसम्म टमाटर फलाउने लक्ष्य छ।’

टमाटर, काक्रा, फर्सी, सिम्ला लगायतको बिक्रीबाट अन्य खर्च कटाएर दुई–तीन लाख बचाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई आलु सुपरजोन डडेल्धुरा र परशुराम कृषि शाखाको प्राविधिक सहयोग रहेको समेत उनले जानकारी दिए।

आफ्ना छरछिमेकी र स्थानीयलाई समेत ओमप्रकाशले आधुनिक कृषि कसरी गर्ने भनेर सिकाइरहेका छन्। विगतमा परम्परागत कृषि खेती गर्ने यहाँका किसान ओमप्रकाशबाट सीप सिकेपछि आनुधिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्।

बेरोजगार युवालाई कृषिमा लाग्न सुझाव

युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनी बताउँछन्। देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ।

‘किसानहरूले आत्मनिर्भर बन्नका लागि कृषिमा लाग्नुपर्छ। देशलाई कृषिमा आत्मनिर्भर बनाउने हो भन हामी सबैले कृषि गर्नुपर्छ।’ उनले भने, ‘बेरोजगार सबै युवा साथीहरूले पनि कृषिमा लागे देशमै पैसा कमाउन सकिन्छ।’

देश लकडाउन भए पनि गरीखाने किसानका लागि त्यसको केही प्रभाव नपर्ने उनको बुझाइ छ। ‘आफ्नै जमिनमा काम गर्नुस्। लकडाउन भएपनि गरीखाने किसानलाई त्यति प्रभाव पर्दैन।’ उनले भने,‘हामीले बारीमा पसिना बगाउने हो बगाइरहेका छौं तपाईंहरू पनि बगाउनुस् र देशमै पैसा कमाउनुहोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.