|

डडेल्धुराः काठमाडौंबाट ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम आइपुगेको छ। सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली आज धनगढी आइपुगेको हो।

संक्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली सुदूरपश्‍चिम पठाएको हो। शुक्रबार दिउँसो यति एयरलाइन्सको विमानमार्फत चिकित्सकको टोली धनगढी आइपुगेको हो। 

संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसंगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए। 

सुदूरपश्चिममा संक्रमितको संख्या पाँच छ। यो अन्य प्रदेशको तुलनामा बढी हो। दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका लम्कीकै एक पुरुष, भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुष र  वीरगन्जबाट आएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। 

उनीहरू सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनीहरू अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.