सरकारले सुदूरपश्चिममा ३३ डाक्टर पठायो

|

डडेल्धुरा : कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण धमाधम भइरहेको छ। सुदूरपश्चिमबाट संकलन गरिएका सात हजार दुई सय बढी नमुनाको पिसिआर र र्‍यापिड टेस्ट विधिमार्फत कोरोना परीक्षण गरिएको छ।

पिसिआर प्रविधिबाट दुई हजार चार सय २८ र र्‍यापिड टेस्टमार्फत चार हजार ८ सयको गरी शुक्रबारसम्म सात हजार दुई सय २८ जनाको कोरोना परीक्षण गरिएकाे छ। 

र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ। पिसिआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाको भने रिपोर्ट ‘पोजेटिभ’ देखिएको छ। 

सुदूरपश्चिममा संक्रमितको संख्या ५ छ। पछिल्लो पाँच दिनयता यहाँ कोरोना संक्रमितको संख्या यथावत् छ।  दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका लम्कीकै एक पुरुष, भारतबाटै फर्किएका कञ्चनपुरका अर्का पुरुष र वीरगन्जबाट आएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। उनीहरू सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। 

एक सय ३९ जनाको रिपोर्ट आउन बाँकी

प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार सात हजार तीन सय ६७ जनाको नमुना संकलन गरिएकोमा अझै एक सय ३९ जनाको रिपोर्ट आउन बाँकी छ।

शुक्रबार मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पिसिआर प्रविधि थप ६ सय ७४ र र्‍यापिड  टेस्टमार्फत चार सय ६७ जनाको नमुना परीक्षण गरिएको छ।सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा दुई हजार ६ सय १४ जनाको र्‍यापिड टेस्ट गरिएको छ। 

कञ्चनपुरमा ४ सय ६८, बैतडीमा एक सय ८७, दार्चुलामा एक सय दुई सय १८, डडेल्धुरामा ११, डोटीमा चार सय ५०, बझाङमा चार सय ८६, अछाममा दुई सय १२ र बाजुरामा एक सय ४४ जनाको र्‍यापिड टेस्ट गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ आएको छ।

सुदूरपश्चिममा थप १० हजार किट ल्याइयाे

र्‍यापिड टेस्ट किट सकिएपछि संघीय सरकारले सुदूरपश्चिमका लागि थप १० हजार किट पठाएको छ। संघीय सरकारले थप १० हजार किट पठाएको प्रदेशको सामाजिक विकास मन्त्रलायमातहत स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार यसअघि ५ हजार किट पठाइएकोमा चार हजार ८ सयको परीक्षण भइसकेको छ।

हालसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न अस्पतालमा १० जनालाई आइसोलेसनमा राखिएको छ। 

जसमा ५ जना कोरोना संक्रमित छन् भने बाँकी ५ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी छ। सुदूरपश्चिममा डोटीबाहेक अन्य आठ जिल्लामा नौ सय ४९ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ।

सरकारले सुदूरपश्चिममा ३३ चिकित्सक पठायो

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना चिकित्सकलाई विमान चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली शुक्रबार धनगढी आइपुगेको छ। सरकारले यती एयरलाइन्सको जहाज चार्टर्ड गरेर चिकित्सक पठाएको हो। 

संघीय स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयअनुसार सरकारी छात्रवृत्तिमा पढिरहेका आवासीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा खटाउने गरी सरकारले उनीहरूलाई यहाँ पठाएको हो। 

सरकारले सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालयले खटाएको अस्पतालमा काम गर्ने गरी चिकित्साशास्त्र अध्ययन संस्थान नेम्समा अध्ययनरत चिकित्सकको टोली पठाइएको हो। उनीहरूलाई हाल एक महिना अवधिका लागि पठाइएको र आवश्यकताअनुसार थप गरिने बताइएको छ। शनिबारदेखि उनीहरू यहाँका विभिन्न अस्पतालमा खटिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.