|

डडेल्धुरा : संघीय सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सुदूरपश्चिम खटाएका चिकित्सकलाई यहाँका विभिन्न जिल्लामा खटाइएको छ। 

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंबाट ३३ जना आवासीय चिकित्सकको टोली शुक्रबार धनगढी आइपुगेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले उनीहरूलाई आवश्यकताअनुसार यहाँका विभिन्न जिल्लामा खटाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी छात्रवृत्तिमा पढिरहेका आवासीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा खटाउने गरी सरकारले उनीहरूलाई यहाँ पठाएको थियोे। चिकित्सकलाई प्रदेशका नौवटै जिल्लामा खटाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले जानकारी दिए। 

डा. मिश्रका अनुसार ३३ जनामध्ये १४ चिकित्सकलाई सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, अछाम, डडेल्धुरा, बझाङमा तीन÷तीन जना खटाइएको छ। यस्तै, बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई/दुई जना खटाइएको जनाइएको छ। 

खटाइएका स्वास्थ्यकर्मी अहिले एमडिएमएस गर्ने सबै जना सरकारको छात्रवृत्तिमा पढ्छन्। सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो।

डा. मिश्रका अनुसार यहाँ आएको टोलीमा इन्टरनल मेडिसिनका १६ जना डाक्टर रहेका छन्। यस्तै, सर्जरीका पाँच, बालरोगका दुई, एनेस्थेसियाका एक, अर्थोपेडिकका तीनजना रहेका छन्। साथै, नाक कान घाँटीका दुई जना, स्त्रीरोगका दुई जना र दुईजना रेडियोलोजिका छन्।

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेको भन्दै त्यसलाई कम गर्न सो टोली पठाइएको जनाइएको छ। उनीहरूलाई हाल एक महिना अवधिका लागि पठाइएको र आवश्यकताअनुसार थप गरिने बताइएको छ। 

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँचजना छ। पछिल्लो ६ दिनयता यहाँ कोरोना संक्रमितको संख्या यथावत् छ।  दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका लम्कीकै एक पुरुष, भारतबाटै फर्किएका कञ्चनपुरका अर्का पुरुष र वीरगन्जबाट आएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। उनीहरू सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.