'काेराेनाकाे लक्षण थिएन, निकाे हुन्छु भन्‍नेमा ढुक्क थिएँ'

|

डडेल्धुरा :  कैलालीको लम्कीका कोरोना संक्रमित युवक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर आइतबार अपराह्न घर फर्किएका हुन्।

१६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए उनी। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीश जोशीले बताए। 

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमा उनी डिस्चार्ज भएका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए। 

कोरोनालाई जितेपछि सञ्चारकर्मीसँग उनले अस्पताल बसाइँको क्रममा कुनै समस्या नभएको प्रतिक्रिया दिए। आफूलाई पनि कुनै लक्षण नै नदेखिएकाले कोरोना संक्रमणबाट निको हुन्छु भन्नेमा आफू सुरुवातबाटै पूर्ण विश्वस्त रहेको उनको भनाइ थियो।

‘मलाई लक्षणहरू पनि देखिएको थिएन। म कोरोनालाई जित्छु भन्ने लागेको थियो। र आज जितेरै छाडें।’ उनले भने, ‘अस्पतालमा पनि मलाईं केही समस्या भएन। डाक्टर सरहरूले पनि राम्रोसँग नै हेरविचार गरिदिनुभयो। संक्रमण पुष्टि भइसकेपछि पनि मलाई त्यस्तो कुनै पनि समस्या भएन्,’ उनले घर गएपछि पनि डाक्टरको सल्लाहलाई अबलम्वन गर्ने बताए।

हिम्मत नहारे कोरोनालाई जितिने उनको भनाइ छ। उनले भने, ‘मैले हिम्मत हारेन। म सञ्चो भएर घर फर्किएँ। तपाईंहरू पनि हिम्मत नहार्नुहोस्। मझै सबै सञ्चो भएर घर फकिर्नुहुनेछ।’ 

उनलाई डिस्चार्ज गर्ने क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी र मेडिकल सुपरिटेन्डेन्टले पुष्प गुच्छा दिएर बिदाइ गरेका थिए। 

कोरोना महामारी फैलिएपछि उनी भारतको मुम्बइबाट घर फर्किआएका थिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्।

ती युवक घर फर्किएसँगै अब सेती अस्पतालमा चार जना बिरामी उपचाररत छन्। जसमा दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका कञ्चनपुरका पुरुष र वीरगन्जबाट आएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिला छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.