नारायण नगरपालिकामा विवाद

|

दैलेख : जिल्लाका ११ वटै स्थानीय तहहरुले दैलेखका नागरिकको उद्धार गर्ने अभियान तीव्र पारेका छन। 

पढाईसँगै उपचारकोे सिलसिलामा जिल्ला बाहिर रहेको नागरिलाई उद्धार गरी पालिका ल्याउने अभियानलाई तीव्रताका साथ अगाडि बढाइएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। 'अन्य जिल्लामा अलपत्र परेका भैरवीका ५० जनाभन्दा बढीको उद्धार गरिएको छ, स्थानीयवासीलाई घर फर्काउँदा लाग्ने गाडीभाडा स्थानीय सरकारले नै ब्यहोरेको छ,' बुढाले भने, 'हामीले केन्द्रसँग आवश्यक समन्वय गरी काठमाडौं लगायत आसपासका जिल्लामा अलपत्र परेका नागरिकलाई फर्काइरहेका छौं।' 

महाबु गाउँपालिकाले पनि जिल्ला बाहिर अलपत्र परेका नागरिकको उद्धार गर्ने कामलाई तीव्रता दिएको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए। उनले लकडाउन अवधिभर महाबुका ४५० जना भन्दा बढी नागरिकलाई उद्धार गरी घर ल्याइएको जानकारी दिए।

'४५० जनाभन्दा बढी नागरिकको उद्धार गरी घर ल्यायका छौं,' शाहीले भने, 'बाहिरबाट आएकाको स्वास्थ्य जाँच गरी होम क्वारेन्टाइनमा पठाउने काम भइरहेको छ र हामी बाँकी अलपत्र नागरिक उद्धारमा लागिपरेका छौं।'

दुल्लु नगरपालिकाले पनि अन्य जिल्लामा अलपत्र परेका नगरपालिकाभित्रका नागरिकको उद्धार गरिरहेको छ। नागरिक उद्धार गर्दा लाग्ने गाडीभाडा नगरपालिकाले नै बेहोरेर हालसम्म २५० जनाभन्दा बढी स्थानीयलाई ल्याइएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए। उनका अनुसार अन्यत्रबाट ल्याइएका स्थानीयलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी जिल्ला प्रशासनमा उनीहरूको दैनिक स्वास्थ्यअवस्थाबारे जानकारी दिने गरिएको छ। 

गुराँस गाउँपालिकाले पनि अन्य जिल्लामा अलपत्र नागरिकको उद्धारलाई तीव्रता दिएको बताएको छ। गुराँसमा घर भई अन्य जिल्लाहरुमा काम र अध्ययनमा अन्यत्र रहेका र हाल अलपत्र परेका १६४ जनाभन्दा बढीको उद्धार गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए। गाउँपालिकाले उद्धार गरी ल्याएकाहरूको स्वास्थ्यजाँच गरी सामान्य देखिएकालाई होम क्वारेन्टाइनमा पठाउने र शंकास्पदलाई क्वारेन्टाइनमा राख्ने गरेको छ। 

भगवतीमाई गाउँपालिकाले अहिलेसम्म अन्य जिल्लामा अलपत्र परेका ११८ जना नागरिकको उद्धार गरेको छ। लागेको खर्च स्थानीय तहले नै ब्यहोरेर स्थानीयलाई गाउँ फर्काइएको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए। विदेशबाट आएकालाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको उनले जानकारी दिए। 

नौमुले गाउँपालिका पनि अलपत्र नागरिकको उद्धारमा लागेको छ। अलपत्र परेका नागरिकलाई घर ल्याउन दुईवटा बस काठमाडौं पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रशाद कोइरालाले जानकारी दिए। घर आउन चाहने नागरिकको विवरण संकलन भइरहेको कोइरालाले बताए।

डुंगेश्वर गाउँपालिकाले हालसम्म अन्यत्र अलपत्र परेका ८४ जना स्थानीयलाई गाउँ फर्काएको अध्यक्ष नगेन्द्र बहादुर मल्लले जानकारी दिए। आठबीस नगरपालिका का अध्यक्ष खड्गराज उपाध्यायका अनुसार अहिलेसम्म १०४ जना स्थानीयलाई नगरपालिकाले उद्धार गरिसकेको छ। चामुण्डाबिन्द्रासैनी नगरपालिकाले अन्यत्र अलपत्र परेका ९६ जना स्थानीयलाई उद्धार गरेको नगरप्रमुख सुर्यबहादुर शाहीले बताए। 

ठाटीकाध गाउँपालिकाले पनि अन्य जिल्लामा रहेका ६० जना भन्दा बढी स्थानीयलाई गाउँ फर्काएको छ। उद्धारमा लाग्ने गाडीभाडा गाउँपालिकाले ब्यहोर्ने गरी अहिलेसम्म ६० जना भन्दा बढी स्थानीयलाई गाउँ फर्काइएको  अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए। 

नारायण नगरपालिकामा भने अन्यत्र अलपत्र नागरिक उद्धार गर्नेबारे विवाद भएको छ। प्रतिनिधिसभा सदस्य पार्वती बिसुङ्खे र रविन्द्रराज शर्माले समन्वय नै नगरी मनोमानी ढंगले काठमाडौंबाट मानिस पठाएको नगरप्रमुख रत्नबहादुर खड्काले तर्क गरेका छन्‌। 

नागरिक उद्धार गर्न बजेट नभएको भन्दै उनले सांसदको पहलमा जिल्ला पठाइएका अलपत्र नागरिकको गाडीभाडा तिर्न नसक्ने बताएका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.