|
गाउँघरका गरिब तथा विपन्नलाई राहत सामग्री बाँड्दै पन्नालाल साह कानु ।

पर्सा : ज्यालामजदुरी गरेर दैनिक गुजारा चलाउने श्रमिकहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन सकसपूर्ण भएको छ। यो सकसलाई केही हदसम्म पार लगाउन अहिले देशैभरका स्थानीयतह राहत वितरणमा लागिरहेका छन्‌।

अन्यत्रजस्तै पर्सामा पनि जनप्रतिनिधिहरूले राहतमा बेइमानी गरिरहेका छन्‌। राहतका नाममा भइरहेको प्रचारबाजी र चर्चा त झनै उदेकलाग्दो छ। तर गरिब र निमुखाहरूको गुजारा टार्न सहयोग गरिरहेका दानवीरहरूलाई भने न चर्चाको भोक छ, न त उनीहरू आफूले राहत बाँडेको भन्दै प्रचारबाजी नै गरिरहेका छन्‌।

बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख पनि राहत भन्दै कुहिएका खाद्यसामग्री वितरण गरेपछि दुई लाख रुपैयाँ धरौटी बुझाएर उम्के। यसबीचमा वीरगञ्ज महानगरपालिकाले राहतस्वरुप वितरण गर्न लागेको चामल कुहिएको भेटियो। मेयर विजयकुमार सरावगीकै घर रहेको महानगरको १४ नम्बर वडामा यस्तो चामल वितरण गरिएको थियो। कुहिएको राहत वितरण गरेको घटनालाई वडाध्यक्ष भरतप्रसाद कुर्मीले नै पुष्टि गरे। 

मेयर सरावगीले भने धेरै परिमाणमा खरिद गरिएकाले केही बोरा चामल कुहिएको भेटिनु ठूलो कुरा नभएकाे भन्दै पन्छिन खोजिरहेका छन्‌। तर स्थानीय सरकारको कोषबाट राहतका लागि भन्दै खानयोग्य चामलकै लागि भुक्तानी गरिएको थियो। कुहिएको चामल बेच्नेलाई कारबाही गर्नुको साटो वीरगञ्ज महानगरले राहतमा भएको गडबढी लुकाउन सो चामल फिर्ता गरेर पुन: अर्को लटमा चामल ल्याइरहेको जनाएको छ। मेयर सरावगी व्यापारिक पृष्ठभूमीकै भएकाले कुहिएको चामल बेच्ने व्यापारी जोगाउन यसो गरिएको स्थानीयले आंकलन गरिरहेका छन्‌। 

हल्लाखल्ला नगरी राहत बाँड्दै दानवीर

स्थानीय सरकारहरूले राहत वितरणमा बदमासी गरेपनि विपन्नको समस्या देखेका दानवीरहरूले भने हल्लाखल्ला नगरी चुपचाप राहत वितरण गरिरहेका छन्‌। आफ्नै गोजी टक्टक्याएर भएपनि विपन्नलाई गाँसको व्यवस्था गरिदिन वीरगन्ज १ छपकैया पन्नालाल साह कानु लागिपरेका छन्‌। विपन्नका लागि लगातार राहत बाँडिरहेका उनले आज (शुक्रबार) पनि ११५ जनालाई राहत उपलब्ध गराएका हुन्‌।

कानुले हरेक परिवारलाई १० किलोग्राम चामल, दुई किलोग्राम आलु, एक किलोग्राम दाल, एक किलोग्राम प्याज, एक किलोग्राम नून, आधा लिटर तेल, एक पिस साबुन दिएका हुन्‌। विपद्‌को समयमा गरिब तथा विपन्नलाई सहयोग गर्न बाबुले इच्छा देखाएकाले एक लाख रुपैयाँभन्दा बढीको राहत वितरण गरिएको कानुका छोरा दिनेशले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.