|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद थामिने लक्षण देखिएको छैन। वैशाख २० को सचिवालय बैठकपछि केही मथ्थर भएको नेकपाभित्रको विवाद बुधबार बसेको सचिवालयमा पनि दोहोरिएको छ।

बुधबार अपरान्ह बसिरहेको सचिवालय बैठकमा केही नेताले प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छाड्नै पर्ने दबाब दिएपछि पार्टी अध्यक्षसमेत रहेका ओलीले बैठक छाडेर हिँडेको स्रोतले जनाएको छ।

अघिल्लो सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत जुटाउन सफल भएर वैशाख ८ को अध्यादेशले ल्याएको संकट टार्न सफल भएका ओलीमाथि फेरि घेराबन्दी सुरु भएको छ। 
केही दिनअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा बसेको सचिवालयका केही सदस्यको गुटभेलाले ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्नै पर्ने निचोड निकालेको थियो।

उक्त गुट बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए। त्यो गोप्य बैठकले ओलीको एकलौटी रोक्न दुईमध्ये एक पदबाट बिदा गर्नैपर्ने निचोड निकाले अनुसार आजको बैठकमा कुरा उठाइएको थियो।

सचिवालयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठक छाडेर आराम गर्न निस्किएका हुन्। खास गरी अध्यक्ष दाहाल र नेपाल समूह ओलीप्रति आक्रमक भएको छ। सकेमा सरकारबाटै बिदा गर्ने रणनीति उनीहरुले अख्तियार गरेपछि ओलीले पनि प्रतिरक्षाका लागि यसबीचमा निरन्तर छलफल गरेका थिए। 

नेकपाले भोली वैशाख २५ गते स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको छ। स्थायी कमिटी अगावै सचिवालय बस्‍ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो। अघिल्लो सचिवालय बैठकमा कुरा टुंगिए पनि अध्यक्ष दाहालले दुईमध्ये एक पद छाड्नै पर्ने दबाब बढाएपछि ओ‌ली आक्रोशित छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.