विज्ञ भन्छन् : काम नलाग्‍ने किट रोकौं, पिसिआर परीक्षण बढाऊँ

|

काठमाडौं :  सरकारले सामुदायिक तथा निजी अस्पताललाई कोभिड-१९   परिक्षण गर्न र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) किट प्रयोग गर्न दिन अन्तरिम  निर्देशिका जारी गरिसेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जेठमा मन्त्रिस्तरीय निर्णय गरी उक्त निर्देशिका जारी गरिएको हो। उक्त अन्तरिक निर्देशिकाको ५ नम्बर बुँदामा ‘आरडिटी गर्दा पोजेटिभ देखिए आरटी पिसिआर गर्नुपर्ने’ त्यसैले अब निजी स्वास्थ्य संस्थामा परीक्षण गर्दा आरडिटी पोजेटिभ देखिए अनिवार्य पिसिआर परीक्षणका लागि रिफर गर्नु पर्ने छ,' भनिएको छ। 

तर विज्ञहरुले भने आरडिटी परीक्षण गर्न निजी स्वास्थ्य संस्थालाई दिनु कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकार उल्लो बाटो हिँड्नु जस्तै हुने बताएका छन्। 

नेपालमा केही सातायता तीव्र गतिमा संक्रमण फैलिरहेको बेला पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने थियो। तर ठूलो समूहमा अनुसन्धानका लागि उपयोगी किट रोग निदानका लागि प्रयोग गर्न निजी स्वास्थ्य संस्थालाई दिनु संक्रमण पत्ता लगाउनुभन्दा कमाएर खाने बाटो खोलिदिन खोजिएको बताउँछन् त्रिभुवन विश्‍व विद्यालयका आनुवांशिक वैज्ञानिक डा. गिरिराज त्रिपाठी।

‘भाइरस संक्रमण पत्ता लगाउन पिसिआर विधि नै प्रभावकारी हुन्छ, आरडिटी परिक्षण त ठूलो समुदायमा एकै पटक गर्नको लागि मात्रै राम्रो हो',  उनले भने, 'अस्पतालहरुमा आडिटी परीक्षण गर्न दिनु भनेको अस्पतालबाट थाहा पाएरै वा जानी जानी संक्रमण फैलाउनु मात्रै हो।'

आरडिटीले एन्टीबडी बनेपछि कम्तिमा ९ देखि  १४ दिन मात्र पोजेटिभ देखाउने गर्ने भए पनि त्यो अवधि भनेको भनेको संक्रमण कम हुँदै गइसकेको अवस्था हो।

भाइरस सबैभन्दा एक्टिभ हुने १४ दिन अगाडि र भाइरस अरुमा सार्ने पनि त्यही अवधि भएकाले आरडिटीले संक्रमण देखाउन नसक्दा त्यसको भर पर्न नसकिने डा. त्रिपाठीले बताए।

आरडिटीले संक्रमणको तीन महिनापछि पनि पोजेटीभ देखाइदिने हुँदा जनता दोहोरो मारमा पर्नेसमेत डा. त्रिपाठीले बताए। उनले भने, ‘अस्पताल प्रयोजनका लागि कुनै पनि भाइरसका आरडिटी किटलाई विज्ञहरुले मान्यता दिएका छैनन्, रोगको एकिन गर्न पिसिआर जाँच नै प्रभावकारी मानिन्छ।'

यता वीर अस्पतालमा कार्यरत एक भाइरोलोजिष्टले पनि हाल निजी अस्पतालाई आरडिटी परीक्षण गर्न दिँदा झन् संक्रमण फैलिन सक्ने बताए। उनले भने, ‘एकदमै महामारी भयो र समुदायमा परीक्षण गर्नु पर्ने बेला आएमा मात्रै समुदायमा आरडिटी प्रयोग गर्न सकिन्छि। तर अहिले अवस्था नियन्त्रण बाहिर नगएको बेलामा निजी अस्पताललाई आरडिटी प्रयोग गर्न दिनु भनेको झनै संक्रमण फैलाउनु हो।'

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतनै रहेको नेपा स्वास्थ्य अनुसन्धान परिषदलेसमेत कोभिड–१९ पत्ता प्रयोग गरिने आरडिटी किटले परीक्षण गर्दा आधा संक्रमितलाई समाजमा छाडेको भन्दै यसबाट परीक्षण गर्न नहुने रायसहितको प्रतिवेदन बुझाइसकेको छ। तर स्वास्थ्य मन्त्रालयले उक्त प्रतिवेदन नै लुकाएर एक लाख भन्दा धेरै आरडिटी किट किन्‍ने तयारी गरिरहेको छ। 

आरडिटी किटबाट कोभिड–१९ परीक्षण विश्‍वका धेरै देशहरुले रोक लगाएका छन्। नेपालमा पनि यसको विश्‍वासनीयतामा प्रश्‍न उठिरहेको छ। नतिजा नै धेरैजसो गलत दिने किट प्रयोग गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ। तर आलोचनाबीच मन्त्रिपरिषद्‍बाट निर्णय गराएर आरडिटी किटबाट कोरोना परीक्षण भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन लाख मानिसमा परीक्षण गर्न पुग्ने गरी आरडिटी किट किन्‍ने भएको छ। हालसम्म विश्‍न स्वास्थ्य संगठनले मान्यता नदिएको यो किट फेरि किनिनुलाई रहस्यपूर्ण मानिएको छ।

विश्‍वका कतिपय देशले यसको गुणस्तर र विश्‍वासनीयतामा प्रश्‍न उठाइरहेका छन्। तर सरकार भने आरडिटी किन्‍नै पर्ने जोडबलमा लागेको छ। सरकारले १ लाख २५ हजार आरडिटी किट किन्‍न प्रक्रिया सुरु गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.