विज्ञहरु भन्छन् : लोकतन्त्रमा आलोचना र विरोध हुन्छ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको संसद बैठकमा राष्ट्रपतिको विरोध गर्नेहरू गणतन्त्रविरोधी भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले लामो संघर्षबाट आएको गणतन्त्रलाई हलुकासँग लिएको भन्दै त्यो अभिव्यक्तिको विषयमा विभिन्न टीकाटिप्णी भइरहेको छ।

राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित पदमाथि प्रश्न उठाउने काम गणतन्त्र विरोधीहरुले गर्ने गरेको तर्क गरिरहे। यद्यपी, प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेमाथि गणतन्त्रविरोधी भएको आरोप लगाइरहँदा पछिल्ला दिनहरुमा राष्ट्रपतिमाथि पनि विभिन्न प्रश्‍न नउठेका भने होइनन्।

दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारले काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरकेको छ। अहिले विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी छ। तर नेपालमा ८० दिन लामो लकडाउन गर्दा पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको भन्दै प्रमुख जनआक्रोश बढिरहेको छ। सडकमा युवाहरुको जुलुस देखिन थालेको छ। सामाजिक सञ्जालमा आक्रोशका स्वर र अक्षरहरु भरिन थालेका छन्। 

सरकारको विरोधमा काठमाडौंसहित देशभर प्रदर्शन भइरहेको छ। तर, सरकारले संकटको बेलमा पनि कोरोना रोकथाम तथा न्यूनीकरण र जनअपेक्षा अनुसार काम गर्नमा नसकेको भन्दै विरोधका स्वरहरु बढिरहेका छन्।

कोरोनाको संकटमा जनप्रतिनिधिलाई संसद विकास कोषका नाममा दिने रकम नकाटेको, कोभिड नियन्त्रणका नाममा अपरादर्शी खर्च गरेको तथा स्वास्थ्य सामग्री खरिदमा अनियमिता गरेकोसहितका कयौं आरोप अहिले सरकारले झेल्नु परिरहेको छ। 

यसबीचमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई जिमखाना, राष्ट्रपतिको कार्यालयमा कार्पेट, केन्द्र तथा प्रदेशका मन्त्रीहरुलाई करोडभन्दामाथिका गाडी किनेको खबरले जनआक्रोशमा तेल थप्‍ने काम गरेको छ। 

तर प्रधानमन्त्री ओलीले भने स-साना निहुँमा पनि राष्ट्रपतिमाथि आक्रमण भइरहेको गुनासो गरेका छन्। उनले राष्ट्रपतिबारे प्रश्‍न उठाउने नाममा गणतन्त्रमाथि नै आक्रमण भइरहेको ठानेका छन्। 

‘मैले त्यसलाई गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठीक होइन भन्‍ने कुरालाई लैजाने रुपमा बुझेको छु', उनले केही दिनअघि संसदमा भनेका थिए,'राष्ट्रपतिले के गर्नुपर्यो? चुप लागेर बस्ने राष्ट्रपति चुप लागेर बसेकै छ त?,’

पछिल्ला दिनमा राष्ट्रपतिमाथि एकपछि अर्को बिषयमा प्रश्‍न उठिरहेको छ। खास गरी राष्ट्रपति विलाशी भइरहेको आरोप लागिरहेको छ। तर सरकारले भने सामान खरिद तथा कार्यालय मर्मत प्रक्रिया नियमित भन्दै आएको छ। उसो त नेकपाको गुटगत राजनीतिलाई लिएर राष्ट्रपति अनावश्यक भएको आरोपसमेत लाग्दै आएको छ। 

राष्ट्रपतिमाथि प्रश्‍न उठाउन पाइन्छ

राष्ट्रप्रमुखमाथि प्रश्‍न उठाउँदैमा गणतन्त्र कमजोर भइनहाल्ले तर्क जानकारहरु र राजनीतिज्ञ नै गर्छन्। प्रधानमन्त्री ओलीले संसदमा गणतन्त्रलाई लिएर हलुका रुपमा टिप्पणी गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद पुष्पा भूषाल बताउँछिन्।

‘प्रधानमन्त्री ओलीले लामो संर्घषपछि आएको गणतन्त्रलाई सामान्य ढंगले लिनुभएको रहेछ', उनले भनिन्, 'एउटा व्यक्तिसँग जोडेर गणतन्त्रलाई तुलना गर्नुभयो, यो उहाँको हलुकाप प्रस्तुति हो।’

गणतन्त्र र राष्ट्रपतिबीच प्रधानमन्त्रीले तुलना गर्दा गणतन्त्रकै उपहास भएको उनले बताइन्। ‘संसद जस्तो गरिमामय स्थानमा बसेर उहाँले गणतन्त्रमाथि त्यस्तो हलुका टिप्पणी गर्नुभएको छ। उहाँको त्यस भनाईबाट जनताले कस्तो अपेक्षा गर्ने?', उनले प्रश्‍न गरिन्।

‘हो, राष्ट्रपति पद उच्च र सम्मानित  हो। त्यसलाई हामीले मान्‍नुपर्छ', भुसालले थपिन्, 'तर, गणतन्त्रलाई व्यक्तिसँग तुलना गर्न जायज हुँदैन।’

प्रधानमन्त्रीले गणतन्त्रमाथि खतरा भएको कुराबारे आफूले बुझ्न नसकेको सत्तारुढ नेकपाकै प्रमुख सचेतक देव गुरुङ बताउँछन्।  ‘प्रधानमन्त्रीज्यूले गणतन्त्रमाथि खतरा भएको बताउनुभयो, उहाँले त्यो कुरा कसरी र किन भन्‍नु भयो मैले बुझ्न सकेको छै', उलने भने, 'तर, मलाई अहिलेको अवस्थामा गणतन्त्रमाथि खतरा छ जस्तो लाग्दैन।’

प्रधानमन्त्रीको भनाइप्रति टिप्पणीको आवश्यकता नरहेको गुरुङले बताए। 'प्रधानमन्त्रीले गणतन्त्रमाथि खतरा देख्नुभएको होला। तर, उहाँको भनाईप्रति हामीले टिप्पणी गरिराख्नु उचित हुँदैन,’ उनले थपे, ‘प्रधानमन्त्रीले खतरा देख्नुभएर पनि भनेको हुनसक्छ।’

प्रधानमन्त्रीले गणतन्त्रमाथि खतरा देखे जस्तो अहिले नै कुनै सम्भावना नरहेको संविधानविद् डा. भीमार्जुन आचार्य बताउँछन्। ‘अहिलको अवस्थामा गणतन्त्रमाथि खतरा छ जस्तो मलाई लाग्दैन। तर, सरकारले काम गर्न नसकेको भन्दै केही आलोचना भइरहेका छन्', उनले भने, त्यस विषयमा कुरा उठेको हुनसक्छ।’

आचार्यले अहिले नै त्यस्ता कुराको सान्दर्भिकता नरहेको बताए। ‘गणतन्त्रमाथि कहाँ खतरा छ? त्यो अहिलको अवस्थामा मैलै देखेको छैन। तर, उहाँले कसरी लिनुभयो। त्यो थाहा छैन’, उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.