|

झापा : धानको एकमात्र सुपरजोन रहेको झापा​मा 'लिफ ब्लास्ट' ले रोपो नै सुक्न थालेको छ। 

ब्याडमै बेर्ना सुक्न थालेपछि हतारहतार रोपाइँ गरेपनि सर्न समेत नपाई रोपो समेत मर्न थालेपछि किसानहरू चिन्तित भएका छन्‌। सामान्यतया: साउन १५ गतेसम्म रोपाइँमा व्यस्त हुने किसानहरू ब्याडदेखि खेतसम्म 'लिफ ब्लास्ट' फैलिएपछि चिन्तित भएका छन्‌। 

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले किसानको ब्याड देखि नै 'लिफ ब्लास्ट' को समस्या देखिएको र यस्तो समस्या समाधानका लागि अवस्था अनुसार विभिन्न विधि सुझाउने गरिएको बताएका छन्। 

कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले विभिन्न स्थानका किसानहरू सुकेको धानसहित कार्यालय आउन थालेको बताए। रोप्नुअघि समेत किसानहरूको ब्याडमा यस्तै समस्या देखिएको थियो।उनले भने–‘केहि किसानको ब्याडमा समेत पात डढ्ने समस्या देखिएको थियो अहिले रोपे पछि समेत रोपो र ब्याडमा पनि यस्तै समस्या देखिएको छ।’

गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले समस्या देखिएका स्थानमा प्राविधिक आफैँ पुगेर औषधी, विषादी तथा ढुसीनासक विषादी छर्कन सिफारिस गरिएको जानकारी दिए। यस्तै सुचीकृत बेर्ना लगाएका किसानलाई विमा गर्न प्रेरित गरिएको पनि उनको भनाई छ। 

बेलैमा समाधान खोज्न सुझाव

झापाका किसानहरूले यस वर्ष मकै खेतीमा समेत नोक्सानी भोगेका थिए। विभिन्न स्थानमा मकैमा खोया मात्र लाग्ने, दाना नलाग्ने समस्या देखिएको थियो। मुख्य अन्नबाली मध्येको मकैको उत्पादन देखि नै समस्या भोगेका किसानले मुल्य समेत उचित पाउन सकेका छैनन्। प्रतिमन ७/८ सय रुपैयाँमा बेच्नुपर्दा लगानी समेत नउठ्ने र भण्डारण गरेर राख्नसमेत नसकिने हुँदा घाटा सहेर बेच्न बाध्य हुनु पर्ने अगुवा किसान ख्यामप्रसाद आचार्यले बताए। 

मकैपछि धानमा समेत समस्या सुरू भएकाले नोक्सानी कम गर्न बेलैमा ध्यान दिन किसानहरूले आग्रह गरेका छन्‌। वडा नम्बर ६ की सीता थापाले धान खेतीमा देखिएको समस्या बेलैमा समाधान नभए उत्पादन घटेर अनिकालको अवस्था आउनसक्ने बताएको छिन्।

झापामा कुल ८७ हजार ५ सय हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ। जसमध्ये गत वर्ष ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ।

रोपाइँ छिटो, तर अझै समस्या

असार मसान्तसम्ममा झापाका ७८ प्रतिशत खेतीयोग्य क्षेत्रफलमा रोपाइँ भएको छ। कृषि ज्ञानकेन्द्र झापाले गत वर्षभन्दा यो पटक धेरै रोपाइँ भइसकेको जानकारी दिएको छ। यस वर्ष समयमै मनसुन सुरू भएकाले रोपाइँ गर्न सजिलो भएको कार्यालय प्रमुख निलकमल सिंहले जानकारी दिए। 

सिँचाई सुविधा भएका तथा वर्षायाममा पनि पानी नजम्ने स्थानहरूमा यस वर्ष चाँडै नै रोपाइँ सकिएको हो। तर, डुबान हुने स्थानहरूमा भने असार अन्तिम साता लगातार परेको झरीका कारण रोपाइँ हुन सकेको छैन। जिल्लाका दक्षिणी भेगमा रहेका खेती योग्य जमिनमा डुबानको समस्या भएकाले ती स्थानहरूमा रोपाइँ गर्न नसकिएको सिंहले जानकारी दिए। 

दक्षिणी झापाको सीमावर्ती गौरीगञ्ज गाउँपालिका-१ का किसान कृष्णप्रसाद पौडेलले असारको अन्तिम सातामा धमाधम रोपाइँ हुनुपर्ने, तर बाढी आएकाले रोपाइँ गर्न नसकिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.