बाटोमै ३ जना र अस्पतालमा २ जनाको मृत्यु

|

बाँके : वर्षात सुरु भएसँगै नेपालगञ्‍जस्थित भेरी अस्पतालको इमर्जेन्सी र आइसीयु वार्ड सर्पदंशका (सर्पले टोकेका) बिरामीले भरिएको छ। दैनिक १० देखि १५ जनासम्म सर्पले टोकेका बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेका छन। 

कोरोना संक्रमणको त्रास र भेन्टिलेटर सुविधा नभएको भन्दै कैलाली, बर्दिया, दाङ र सुर्खेतका अस्पतालहरूले सर्पले टोकेका बिरामीहरूलाई नेपालगञ्‍जको भेरी अस्पतालमा रिफर गर्ने गरेका छन्‌। यसै कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष भेरी अस्पतालमा सर्पले टोकेका बिरामीहरूको चाप ह्वातै बढेको हो। अहिले अस्पतालको इमर्जेन्सी, आइसीयु र जनरल वार्डमा सर्पले टोकेका बिरामी राखिएको छ। 

घर नजिकैका अस्पतालहरूमा उपचार नहुदा ४/५ घन्टा लगाएर नेपालगञ्‍जको भेरी अस्पतालमा पुर्‍याउनुपर्ने बाध्यता छ। ढिलोगरी अस्पताल पुर्‍याउँदा अधिकांश बिरामीहरू गम्भीर अवस्थामा पुगिसकेका हुन्छन्‌। उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ। भेरी अस्पतालको आइसीयु वार्डमा ६ वटा बेड र ६ वटै भेन्टिलेटर छन। अस्पतालका आइसीयू वार्ड प्रमुख डा.पारस पाण्डेले भएका बेडमध्ये धेरैजसोमा सर्पले टोकेका बिरामी राखिएको जानकारी दिए। । 

यो वर्ष अस्पताल पुर्‍याउन ढिलो गरेका कारण बाटैमा ३ जना बालबालिकाको मृत्यु भएको छ। सर्पदंश भएका दाङ, बाके र कैलालीका बालबालिकाको समयमै उपचार नपाउँदा मृत्यु भएको हो। यस्तै, आइसीयुमा राखेर उपचार गर्दागर्दै २ जनाको मृत्यु भएको छ। 

यो वर्ष बिखालु सर्पले टोकेका १५० जना भेरी अस्पतालमा उपचारका भर्ना भइसकेका छन्‌। भर्ना भएकामध्ये ४५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। 

सर्पदंशको प्रकोप बढ्दै गएकाले झुल लगाएर खाटमा सुत्न, घर बाहिर निस्कँदा टर्च बालेर सजग भएर निस्कन र घरबाहिर होसियार भएर काम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.