|

म्याग्दी : अघिल्ला वर्षहरुमा बेनीबजारपारि बेनी पुलचोकीकी पार्वती थापालाई चुरापोते बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो।

पुलचोकस्थित उनको पसलमा साउन महिनामा प्रत्येक दिन ग्राहकको घुइँचो लाग्थ्यो। त्यसैले गत वर्ष यो सिजनमा उनले तीनजनासम्म स्टाफ राखेर व्यापार गरेकी थिइन्। तर, यस वर्ष कोरोनाले गर्दा उनको पसल खाली छ। सिजनमै पसल खाली देख्दा अब आउने पर्वमा पनि यस्तै अवस्था रहला भन्ने चिन्ता उनको छ। 

‘साउन बित्न लाग्दा पनि पहिलाको जस्तो व्यापार नै छैन,’ उनले भनिन्, ‘न चुरापोते बिक्री भएको छ, न त अरु सामान नै।’ ६ वर्षदेखि व्यापार गर्दै आएकी उनले विगतका वर्षहरुमा साउनमा मात्र चुरापोते बेचेर मात्रै पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्थिन्। तर, यस वर्ष  व्यापार शून्य भएकाले उनले सुनाइन्। 

बेनी बजारका अर्का व्यवसायी सुमन खत्री ग्राहक नभएपछि पसलमा सामान मिलाउँदै गरेका भेटिए। आठ वर्षदेखि व्यवसाय गर्दै आएका उनले लकडाउनले गर्दा व्यवसायमा निकै असर परेको बताए। ‘हरियो पोते र राखी बिक्नुपर्ने थियो,’ उनले भने, ‘अहिले त मानिसलाई दिनचर्या धान्नै गाह्रो छ। उपभोक्ताको क्रय क्षमता नभएकाले पनि व्यापार खस्किएको हो।’
 
बेनी बजारको न्यू रोडका व्यापारी अजित खानको पीडा पनि उस्तै छ। माला बनाउन बजारका अन्य पसलबाट उनलाई उन्ने काम मिल्थ्यो। घर परिवार यही कामबाट पाल्थे। तर, यो वर्ष पसलमा ग्राहक नभएपछि माला उन्ने काम पनि नभएको उनले बताए। ‘अरू बेला साउनमा पसलमा ग्राहकको घुइँचो हुँदा माला उन्न भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘यसपालि खाली बस्नु परेको छ।’

विगतका वर्ष साउनमा दिनको ५० देखि ८०  हजार रुपैयाँसम्म व्यापार गर्ने बेनी बजारका कस्मेटिक पसलहरुलाई यस वर्ष बोहनी गर्न पनि गाह्रो भएको गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.