फार्म नै दर्ता गरेर सामूहिक खेतीमा लागेका छन् गन्यापधुराका युवा
फार्म नै दर्ता गरेर सामूहिक खेतीमा लागेका छन् गन्यापधुराका युवा
डडेल्धुरा : ४० वर्षदेखि बाँझो रहेको जमिनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका युवाले आलु खेती गर्न सुरु गरेका छन्। गन्यापधुरा गाउँपालिका–४ रुमाइलका युवाले समूह नै बनाएर पुर्खाले गाईभैंसी पालनका लागि बनाएका खर्कहरुमा २ सय ५० रोपनी बाँझो जमिन सदुपयोग गरेका हुन्।
गाउँपालिका– ४ को बन्तोली भन्ने स्थानमामा करिब दुई सय ५० रोपनी जमिन बाँझो थियो। २०३६ सालयता यहाँ खेतीपाती गरिएको छैन। कोरोना महामारीबीच भारतबाट आएका बेरोजगार युवाको समूहले रुमाइल गाउँका ६ परिवारको दर्ता जमिनमा सामूहिक रुपमा आलु खेती गर्न बाँझो जमिन खनजोत गरिरहेका हुन्।
विस्तारै बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी मलका लागि पशुपालन पनि गर्ने युवाको सोच छ। स्थानीय देवराज भट्टले भने, ‘भारतमा धेरै दुःख गर्नुपर्छ त्यहाँ दुःख यहाँ सामूहिक रुपमा फार्म बनाए लाग्छाैं।’
‘कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतबाट घर आएँ। घर आएदेखि आयस्रोत केही पनि छैन,’ स्थानीय जयराज भट्टले भने, ‘बाजेले कमाइ खाने जमिन बाँझो थियो। सिँचाइको पनि व्यवस्था गर्न सहज छ। गाउँघरमै आयआर्जनका स्रोत खोज्न आलु खेतीमा जुटेका छौं।’
बाँझो जमिनमा अहिले लगानी मात्रै लाग्ने भए पनि भविष्यमा आम्दानीको स्रोत बन्न सक्ने उनले बताए। बन्तोलीमा घर पनि छैनन्। टहरा बनाएर आलु खेती गर्न सुरुवात गरिएको छ।
स्थानीय सरकारलगायत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको अर्का स्थानीय देवराज भट्टले बताए। जंगलमा खेती सुरु गरिएकाले पहिलो वर्ष उत्पादन नहुने उनको भनाइ छ। एकातिर उत्पादन कम हुने र जंगली जनावरबाट बचाउनुपर्ने चुनौती युवामाझ छ।
यसकारण स्थानीय सरकार, कृषि ज्ञान केन्द्रलगायत कृषि पशुपालनका क्षेत्रमा काम गर्ने संघ संस्थाको सहयोग र हौसला आवश्यक रहेको उनले बताए। आलु खेतीसँगै भैंसी र बाख्रापालन पनि थालिने उनले बताए।
बाँझोका दिनमा जंगलमा भैंसी पाली खेतीपाती हुन्थ्यो। तर, ४० वर्षयता उक्त स्थानमा खेतीपाती भएको छैन। कोरोना भाइरस संक्रमणका कारण अहिले अधिकांश युवा गाउँ फर्किएका छन्। भारतका विभिन्न ठाँउमा काम गर्ने युवा घर फर्किएपछि अहिले सबै बेरोजगार बनेका छन्।
गाउँमै रोजगारी सिर्जना गर्न बाँझो जमिनमा युवा आलुखेतीमा वडाले समेत प्राविधिक सहयोग गर्न सुरु गरेको वडाध्यक्ष चेतराज भट्टले बताए। उनले भने, ‘वडाकै पहलमा युवा यहाँ बाँझो जमिन खन्न लगेका हुन्, हामीले प्राविधिक सहयोग गर्ने सुरु गरिहेका छौँ।’
कोरोना महामारीकाबीच गन्यापधुरा गाउँपालिका १२ सय युवा घर फर्केका छन्। उनीहरुलाई स्वरोगार बनाउन गाउँपालिकाले ५ वडा वडामा कृषिका गतिविधि बढाएको जनाएको छ। अहिलेदेखि नै आलु खेती गर्न त्यस ठाउँमा गाउँपालिकाले कृषि प्राविधिक खटाइएको बताएको छ।
गत भदौ १७ गतेदेखि बाँझो जमिन खन्ने कामको सुरुवात गरिएको छ। दैनिक करिब ७०-८० जनाको संख्यामा स्थानीयलाई काममा लगाई बाँझो जमिन खनिएको छ। पहिलो पटक खन्ने काम सकिएको छ। अहिले बारीमा हाते ट्रयाक्टर पनि पुर्याइएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।