|

झापा : झापाको कचनकवलका एक जनाको जलेर मृत्यु भएको छ। 

कचनकवल गाउँपालिका-१ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌। प्रहरीका अनुसार एकतले काठको खम्बा, टीनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान आगलागी भएको थियो। 

घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ। आगलागीमा परी उनको घर जलेर नष्ट भएको छ भने  एउटा माउ गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जनाएको छ। 

स्थानीयले घरमा आगो लागेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित भद्रपुर र बिर्तामोड नगरपालिकाको २ वटा दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

घरमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन। मानवीय र पशुको क्षतिबाहेक अन्य विवरण आइनसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.