|

नवलपरासी : लामो समयदेखि रोकिएको पश्चिम नवलपरासीको सुस्तास्थित नरायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको रोकिएको काम पुनः सुरु भएको छ। 

पुल निर्माणको जिम्मा पाएको त्रिशूली आश्रय जेभीले काम सुरु गरेको केही समयमै काम छाडेर सम्पर्कविहीन भएको थियो। ठेकेदारलाई पुनः सम्पर्कमा गत वर्षको पुसदेखि काम सुरु भएको थियो। ठेकेदार कम्पनीले जमिनमुनि गर्नुपर्ने पायलिङको काम सम्पन्न गरेको छ। अब २४ वटा पायलिङ गर्न बाँकी रहेको कम्पनीले जनाएको छ। 

पुसदेखि काम सुरु गरिए पनि चैतमा कोरोना महामारीका कारण रोकिएको काम अहिले बल्ल पुनः भएको हो। काम सुरु भएसँगै पुल निर्माणले तीव्रता पाएको छ। नारायणी नदीमा पानीको सतह अझै कम भएपछि मात्र बाँकी पायलिङको काम हुने र अहिले क्याब निर्माणको काम भैरहेको आयोजनाका इञ्जिनियर अशोककुमार मण्डलले जानकारी दिए।

पुल निर्माणका लागि काम गर्ने अधिकाशं मजदुर बंगाली र भारतीय थिए। उनीहरु घर गएको र फर्किन ढिलाई भएकाले ढिलो भएको मण्डलले बताएका छन्।

भारतीय पक्षबाट पटक–पटक अतिक्रमित हुँदै आएको सुस्ताका स्थानीयले आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ। भारतीय भूमि प्रयोग नगरे नारायणी नदीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता छ। त्यसैले नेपालतर्फ सहज रुपमा आवतजावत गर्नका लागि झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो। 

पटकपटक म्याद थप गरेको कम्पनीले पछिल्लो पटक पनि तोकिएको समयका काम सम्पन्न भने गर्न सकेन। जमिनमुनिको अधिकांश काम सकिएको र थोरै मात्र काम बाँकी रहेकाले कामलाई तीव्रता दिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। थपिएको म्याद दुई वर्षअघिनै सकिएको हो। 

सुस्तास्थित नारायणी नदीमा निर्माण हुने झोलुङ्गेपुल नेपालकै लामो पुलमध्येको एक हुनेछ। यो पुलको लम्बाई १ हजार ५७१ मिटर हुनेछ। जुन चाँदनी दोधारामा रहेको पुलभन्दा ११९ मिटर लामो हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.