|

इलाम : इलाममा जारी दोश्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ।

समूह चरणको अन्तिम दिनको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो। शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता त्रिभुवन आर्मी र समूह बी को उप विजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने छ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ए को उप विजेता विमान ट्रेडर्स विर्तामोड बीच प्रतिस्पर्धा हुने छ। आजको खेलमा पराजित भएपछि डिफेन्डिङ च्याम्पियन गण्डकी समुह चरणबाटै बाहिरिएको छ।

इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको शुक्रबारको दोश्रो खेल विभागीय टोली त्रिभुवन आर्मीसँग  ३–१ को सेटमा पराजित भएपछि गण्डकीको यात्रा समूह चरणबाटै समाप्त भएको हो।

जितसँगै आर्मी समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्न सफल रह्यो। सुरुवाती दुवै सेटमा सहज जित निकालेको आर्मीले तेश्रो सेट गुमाउन पुग्यो। चौथो सेटमा उत्कृष्ट खेल देखाउँदै आर्मी विजय बनेको हो। 

आर्मी रहेको समूह ए बाट विमान ट्रेडर्स विर्तामोड उपविजेताको रुपमा सेमिफाइनल पुग्यो। गौरादह खेलकुद विकास समिति खेलमा सहभागी नभई 'वाकओभर' दिएपछि विमान समूह उपविजेता बनेको हो।

३ खेलमा नै विजयी भएको आर्मी ७ अंकका साथ समूह विजेता बन्यो। समान खेलबाट २ मा जित र १  हार निकालेको विमान ७ अंकका साथ दोश्रो स्थानमा रह्यो। गण्डकी प्रदेश ३ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो।

गौरादह १ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ। समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्यो। पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो। दमक अंकविहीन हुन पुग्यो। फाइनल आइतबार हुने छ। फागुन ४ देखि जारी प्रतियोगितामा ३ विभागीयसहित ७ टोलीको सहभागिता छ। 

लिग कम नकआउटका आधारमा संचालित प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद विकास समिति र गण्डकी प्रदेश छन्।

समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन्। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.