|

इलाम : नेपाली खेलाडी चम्कँदा पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियन्ससिपमा मासा युनाइटेडले लगातार दोस्रो जित निकालेको छ।

नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानमा उत्रिएको मासाले हायर एजुकेसन कमिसन (एचइसी)को टोलीलाई ४–० ले हरायो। मासाको जितमा अनिता केसीले २ गोल, सरु लिम्बू र सम्रोज सम्रिनाले १-१ गोलको योगदान दिए। खेलको सुरुवातबाटै दबाब बनाएको मासाले छैटौँ मिनेटमा अग्रता बनायो।

सरुको पासमा अनिताको प्रहार गोलरक्षकबाट डिफ्लेक्ट हुँदै पोष्टको दिशा लियो। पहिलो हाफमा १–० को अग्रता बनाएको मासाले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। खेलको ५८ औँ मिनेटमा सेन्टरबाट अनिताले एचइसीका खेलाडीलाई छलाउँदै गरेको प्रहार गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा सम्रोजले अग्रता दोब्बर बनाइन्।

७८ औँ मिनेटमा सरुको पासमा अनिताले एचइसीको डिफेन्सका बिचबाट गरेको प्रहार गोलमा परिणत भयो। ८३ औँ मिनेटमा सरुले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुम्दा मासाले खेल ४–० ले जित्यो। वुमन्स च्याम्पियन्ससिपका लागि मासाले विभागीय टोली एपिएफमा रहेका ४ जना राष्ट्रिय खेलाडीलाई बोलाएको थियो।

यसअघिको खेलमा समेत नेपाली खेलाडी चम्कँदा मासाले सियालकोट सिटीलाई १९–० हराएको थियो। जसमा सरुले एक्लै १० गोल गरेकी थिइन्। अनिताले ६ र डिफेन्डर गीता राना र सम्रोज सम्रिनाले १-१  गोल गरेका थिए। मासाले यसअघि दोस्रो खेल कराँची युनाइटेडसँग खेल्ने तय भएको थियो। कराँचीका खेलाडीमा कोरोना देखिएपछि सो खेल स्थगित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.