|

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भीडभाड हुने गरी कुनै किसिमका मेला, जात्रा, सांस्कृतिक कार्य अर्को सूचना नभएसम्म नगर्न/नगराउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै फागु पूर्णिमा (होली) को अवसरमा भीडभाड नगर्न, स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउनसमेत आग्रह गरेको छ। 

कोभिड–१९ को संक्रमण सम्भावनालाई मध्यनजर गर्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने तथा स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने र सो लागि आवश्यक समन्वय स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। 

त्यस्तै अन्य सेवाप्रदायक निकायबाट सेवा प्रवाह गर्दा कोभिड १९ को मापदण्ड पालना गरेर मात्र सेवा प्रवाह गर्ने, जिल्लामा कोभिड–१९ संक्रमण फैलन नदिन प्रत्येक स्थानीय तहले रोगको निगरानी चुस्त बनाउन तथा सचेतनामूलक सन्देश प्रशारण गर्ने समेत प्रजिअ भट्टराईले जानकारी दिए।

यसले यस वर्ष पनि भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा प्रभावित हुने संकेत गरेको छ। गतवर्ष कोरोना भाइरसकै कारण जारी लकडाउनका कारण जात्रा औपचारिक पूजामा सीमित गरिएको थियो। 

प्रजिअ भट्टराईले जात्रा सञ्चालन गर्नेबारे थप छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘अहिलेको अवस्थामा कमभन्दा कम संख्या उपस्थित भएर जात्रालाई सुरक्षित रुपमा सञ्चालन गर्ने बारेमा छलफल भइरहेको छ।’

यसअघि काठमाडाैं जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभित्र हुने सबैखाले भीडभाड नगर्न र अनिवार्य मास्क लगाउन आग्रह गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.