|

भोजपुर : प्रदेश–१ सरकारको प्राथमिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ।

सदरमुकामनजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो।

२०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ।

मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘हालसम्म रंगशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ। सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आर्थिक वर्षको असार महिनासम्म निर्माण पुरा गछौँ।’

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउने लगाएत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगाएतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। त्यस्तै खेलमैदानमा दुवो लगाउने काम पनि भइरहेको छ।

करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रंगशालामा ५ हजार मानिस अट्न सक्ने गरी ७ ओटा प्याराफिड निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ।

निर्माण भरहेको रंगशालाको शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समेत स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा राईले कामलाई गुणस्तरीय ढंगले सम्पन्न गराउन निर्देशन समेत दिएका छन्।  साथै उनले यो रंगशालासँगै जिल्लामा निर्माण भइरहेको सडक, पुल तथा अन्य निर्माण संरचनाको लागि बजेटको अभाव नहुने बताए।

 मुख्यमन्त्री राईले भने,‘आज स्थलगत रुपमा रंगशालाको अनुगमन गरे। यो भोजपुरसँगै हाम्रो प्रदेशको पहिलो रंगशाला हो। निर्माण भईरहेका कुनै पनि योजनाको काम बजेटको कारणले समस्या पर्दैनन।’

कामलाई गुणस्तरीय बनाउनका लागि इन्जिनियरहरुले नियमित रुपमा अनुगमन तथा चेक जाँचसमेत गर्दै आएका छन्। निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रजनीस कुमार झाले बताए।

रंगशाला निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदनमा छुट भएका केहि संरचनाको विषयमा समेत मुख्यमन्त्री राईलाई जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.