|

बर्दिया : बर्दियासँग सीमा जोडिएको भारतमा कोरोना संक्रमणले भयावह रूप लिएको छ। छिमेकी जिल्ला बाँकेमा संक्रमण भयावह भइरहेको छ। यसले पनि बर्दिया संक्रमणको उच्च जोखिम छ। 

कोरोना परीक्षण गराएकामध्ये ८८ प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पताल बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार चैत २६ यता संक्रमण पुष्टि भएकामध्ये १० जनाको मृत्यु भइसकेको छ। त्यसअघि १९ जना संक्रमितको मृत्यु भएको थियो। 

बर्दियामा ७१९ जना संक्रिय संक्रमित छन्। कुल संक्रमितको संख्या २ हजार २२५ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। सबैभन्दा धेरै बर्दियाको सदरमुकाम गुलरियामा ४०८ जनामा संक्रमण पुष्टि भएको छ।

स्थानीय तहको तयारी

केही दिनअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले कोरोना संक्रमण तीव्र गतीमा बढ्न सक्ने भन्दै बर्दियाका ८ वटै स्थानीय तहलाई पाँचवटा अक्सिजनसहितमा २० वटा शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। जसअनुसार स्थानीय तहहरुले आइसोलेसन शय्या तयारी अवस्थामा राखेका छन्।

कोरोना संक्रमण रोकथामका लागि सक्दो प्रयास गरिरहेको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले बताए। कोरोना अहिलेको अवस्थामा स्थानीय तहसँगको श्रोत परिचालन गर्न सकिए कोरोना नियन्त्रण गर्न सकिने जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बताउँछन्।

उपचारका लागि सधै बाँकेको भर

बर्दिया जिल्ला अस्पतालमा कोरोनाका बिरामीको उपचार गरिँदैन। एक मात्र जिल्ला अस्पताल, त्यसमा पनि श्रोतसाधनको अभावमा कोरोना बिरामीको उपचार गर्न नसकिएको अस्पतालका प्रमुख सुवास पाण्डेले बताए।

‘अस्पतालको संरचना छैन,’ उनले भने, ‘अन्य रोगका बिरामी र कोरोनाका बिरामी एकै ठाउँमा उपचार गर्न सम्भव छैन। त्यसमाथि स्वास्थ्यकर्मी पनि अभाव छ।’ जिल्ला अस्पतालमा ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा अहिले ३२ जनामात्रै छन्। 

‘कुल दरबन्दीको ५५ प्रतिशत मात्रै स्वास्थ्यकर्मी छन्। त्यसमा पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढ्दो छ,’ प्रमुख पाण्डेले भने, ‘अहिले उपचार सेवा प्रवाहमै समस्या सिर्जना भैरहेको छ। जिल्ला अस्पतालका ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेकोे छ।’

बर्दियाका कोरोना संक्रमित उपचारका लागि बाँके जिल्लाका अस्पतालमा भर पर्नुपर्ने बाध्यता छ। बर्दियामा अस्पताल र स्वास्थ्यकर्मी नहुँदा बाँके पठाउनुको विकल्प नभएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

सामान्य प्रकृतिका बिरामीलाई स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा उपचार गरिए पनि गम्भीर प्रकृतिका कोरोना बिरामीहरुलाई बाँकेको भेरी अस्पताल वा कोहलपुर शिक्षण अस्पताल पठाउनुपर्ने बाध्ता रहेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए।

कानाका मात्रै होइन अन्य रोगका जटिल प्रकृतिका बिरामीलाई समेत कोहोलपुर, नेपालगञ्ज पठाउनुपर्ने श्रेष्ठ बताउँछन्। 

कोरोना संक्रमण तीव रुपमा बढेपछि बर्दियामा बैशाख १२ गते रातिदेखि निषेधाज्ञा लागु गरिएको छ। अहिले अत्यावश्यकबाहेकका सबै सेवा बैशाख १९ गतेसम्म बन्द गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.