|
डुलुवा व्यापारीले उपभोक्तालाई बेचेको अखाद्य मह ।

 पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतमा एकजना उपभोक्ताले आफूले किनेको मह दुई दिनमा जमेको र त्यो डाल्डा   घ्यू जस्तै बनेको भन्दै गुनासो आयो। मौरीले नै बनाएको मह त्यस्तो स्वरूपमा नजाने भएकोले त्यसमा अखाद्य वस्तु मिसिएको हुन सक्ने अनुमान गरी जिल्ला प्रहरी कार्यालय पर्वतले झोलामा बोकेर डुलाउँदै बेचिरहेको अवस्थामा कुस्मा बजारबाट मह र व्यापारीलाई नियन्त्रणमा लियो।

सोही क्रममा चुक (अमिलो) झोलामा बोकी डुलाई बेचिरहेको अवस्थामा अर्का एकजना व्यापारीलाई पनि नियन्त्रणमा लियो। मह जस्तै अमिलोमा पनि अखाद्य वस्तु राखिएको हुन सक्ने तथा उपभोक्तालाई ठगिएको हुन सक्ने अनुमानमा अमिलोसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए।

मह र अमिलो बेचिरहेकाहरूले आफूहरूले अखाद्य वस्तु नमिसाएको दाबी गरेपछि प्रहरीले उनीहरूलाई तीन दिनको समय दियो। प्रहरीको नियन्त्रणमा रहेका सामग्रीहरूमा तीन दिनमा कुनै खराबी नआएमा फिर्ता गरिदिने र फिर्ता लैजानको लागि ती व्यापारीहरू तीन दिनपछि आउन सक्ने भनी पठाएको व्यापारीहरू सामग्री फिर्ता लैजान आएनन्। प्रहरीको नियन्त्रणमा रहेको मह र अमिलो सडेर दुर्गन्धित बन्यो।

‘तपाईँहरूको सामग्री ओरिजनल हो भने तीन पछाडि लिन आउनुहोला। तीन दिनसम्म हामीसँग राखेर हेर्छौँ भनेर पठाएका थियौँ। तर उनीहरू सामान फिर्ता लैजान आएनन्।’ इन्स्पेक्टर पौडेलले भने, ‘हाम्रो नियन्त्रणमा रहेका सामग्री कुहिएर कार्यालय नै दुर्गन्धित बन्यो। उनीहरू पक्राउ पर्ने डरले सामान लैजान नआएका हुन्।’

प्रहरीले नष्ट गरेको करिब ५० लिटर अमिलो र १० किलो मह हेर्दै घिनलाग्दो अवस्थामा थियो। नष्ट गरिएको करिब सात हजार लिटर घरेलु मदिरा र त्यसको कच्चा पदार्थ पनि अखाद्य नै थिए। कुस्मा नगरपालिका दुई खुर्कोटको नयाँ पुल र वडा नं. सात गोदामबाट नियन्त्रणमा लिइएको मदिराको कच्चा पदार्थमा कुहिएको भात, कपडा, चप्पल, कुहिएको मासुलगायतका पदार्थहरू राखेको पाइएको थियो।

त्यसमा पनि बढी समस्या महमा देखिएको थियो। जुन कुनै पनि हालतमा महको स्वरूपमा थिएन। उपभोक्ता गुनासो आएपछि झोलामा बोकेर यस्ता खाद्य वस्तु बेच्नेहरूमाथि नियन्त्रण बढाइएको प्रहरी बताउँछ।

त्यस्ता सामग्रीको व्यापार गरिरहेका व्यक्तिहरूको फलो गरिरहेको र उनीहरूलाई पक्राउ गरेर थप प्रक्रिया अगाडि बढाउने पनि प्रहरी निरीक्षक पौडेलको भनाइ छ।

उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष गोपी अधिकारीले उत्पादन मितिसहितको लेबल नभएका, खरिद तथा बिक्री बिल नभएका त्यस्ता घुम्ती व्यापारीहरूलाई नियन्त्रण गर्ने काम स्थानीय तहको भएको बताउँदै त्यस्ता व्यापारीहरूसँग कुनै पनि सामग्रीहरू खरिद गर्न नहुने बताउँछन्। ‘सामान सस्तोमा पाइयो भन्दैमा उपभोक्ताले लेबल नै नभएका, बिल नभएका सामग्रीहरू खरिद गर्न नै हुँदैन।

पहिलो कुरो उपभोक्ता नै सचेत भइदिने हो भने त्यस्ता व्यापारीहरू मौलाउँदैनन्।’ उनले भने, ‘यसको नियन्त्रणको अधिकार स्थानीय तहमा रहेको छ। उहाँहरू सचेत हुनुपर्छ। उद्योग वाणिज्य सङ्घको तर्फबाट हामीले प्रशासन र पालिका दुवैमा सहकार्य गरेर यो समस्या हटाउन लाग्नेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.