|

लमजुङ :  उपकरण ल्याएको महिनौं बित्दा पनि जिल्ला अस्पतालको भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन सकेको छैन। आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको हो।

गण्डकी प्रदेश सरकारबाट अघिल्लो आर्थिक वर्षमै बजेट प्राप्त भएपनि चालु आर्थिक वर्षको चार महिना पछि आवश्यक उपकरण आइपुगेको हो। भेन्टिलेटर सहितको आइसियु सञ्चालनका लागि अघिल्लो वर्षकै बजेटबाट ढिला गरी उपकरण ल्याएको थियो। उपकरण ल्याइसकेको महिनौ बित्दा पनि आवश्यक जनशक्ति नहुँदा हालसम्म भेन्टिलेटर सहितको आईसियु कक्ष सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ।

आइसियु कक्ष सञ्चालनको निम्ती प्रदेश सरकारले गत आर्थिक वर्षमै एक करोड ६९ लाख १९ हजार रुपैया उपलब्ध गराएको थियो। तर विश्वव्यापी कोरोना भाईरस संक्रमण जोखिमसँगै तत्कालिन लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भएको थियो। अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याइसकिएको तर दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको  अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए।

अघिल्लो आर्थिक वर्षमा कोभिड-१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई असार महिना भित्रै आइसियु कक्ष सञ्चालन गर्ने तयारी भएपनि अपेक्षित काम हुन सकेको थिएन। हाल दोश्रो चरणको कोरोना संक्रमणको जोखिम हुँदा सम्म पनि भेन्टिलेटर सहितको आइसियु सञ्चालन नहुँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरूले प्रश्न उठाउँदै आएका छन। हाल उपकरण ल्याएसँगै सञ्चालनको लागि प्रदेश सरकार मार्फत जनशक्ति माग गरिएपनि हालसम्म जनशक्ति नआएको अस्पतालले जनाएको छ।

अस्पतालमा भेन्टिलेटर सहित पाँचवटा आइसियु कक्ष सञ्चालन गर्ने तयारी गरिएपनि हाल दुईवटा भेन्टिलेटर मात्र जडान गरिएका छन्। भेन्टिलेटर सहितको आईसियु कक्ष सञ्चालनको लागि आवश्यक प्रक्रिया र उपकरण भएपनि जनशक्ति नभएको अस्पताल प्रशासनले जनाएको छ।

भेन्टिलेटर सहितको आइसियु सञ्चालनका लागि सम्बन्धित विषयमा तालिमप्राप्त स्वास्थ्यकर्मी र सहयोगी चाहिने भन्दै अस्पताल भित्र उक्त तालिम लिएका जनशक्ति नभएको र बाहिरबाट पनि हालसम्म कोहि नपठाइएको अस्पतालको भनाई छ। यद्यपि, यो विषयमा अस्पताल भित्रका केहि स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र केहि जनशक्ति बाहिरबाट ल्याउने विषयमा सम्बन्धित सरोकारवाला बिच छलफल हुँदै आएको थियो।

आइसियु कक्ष सञ्चालनका लागि अस्पतालले हाल इमरजेन्सी सेवा प्रवाह भइरहेको नयाँ भवनको दोश्रो तला प्रयोगमा ल्याएको छ। अस्पतालमा आइसियु कक्ष नहुँदा आकस्मिक र गम्भीर प्रकृतिका बिरामी उपचारमा समस्या हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.