|

जनकपुरधाम : ​पछिल्लो समयमा बढदै गएको कोरोना संक्रमणविरुद्ध प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रेका छन्।

बढ्दो अक्सिजन माग र संक्रमतिको चाप हेर्दै मुख्यमन्त्री राउतले आज धनुषाको मिथिला नगरपालिकाको ढल्केबर र जनकपुरधामको बेलास्थित अक्सिजन प्लान्ट र जानकी मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पताल र जनकपुरधाम-१४ मुजेलियास्थित मनिपाल मेडिकल कलेजको निर्माणाधीन भवनमा तयारी गर्न लागेको १०० बेडको कोभिड अस्पताहरूको स्थलगत अनुगमन गरेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धीरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला सहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण अनुगमन गरेका हुन्।

ढल्केबरस्थित ढल्केबर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका संचालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिए। धनुषामा अक्सिजनको वितरणमा आजैबाट एकद्वार प्रणाली लागु गरिएको छ।

त्यसैगरी मुख्यमन्त्री राउत सहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेका छन्। सो क्रममा मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट सञ्चालन गरि संक्रमितहरुको ज्यानको रक्षा गर्न उद्योगका संचालकलाई आग्रहसमेत गरे।

मुख्यमन्त्री राउतको आग्रह उद्योगका संचालकले शनिवार सम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। बेलामा निर्माणधीन उद्योग २४ घण्टामा ६ सय सिलिण्डिर रिफिल गर्न सक्ने क्षमताको छ। 

त्यस्तै मुख्यमन्त्री राउतको टोलीले जानकी मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको समेत निरीक्षण गरेको छ। सो क्रममा जानकी मेडिकल कलेजका व्यवस्थापन पक्षले अक्सिजनको कोटा बढाइदिन माग गरेका थिए भने टोलीले आजैबाट अक्सिजनको कोटा बढाइदिने र शनिबारबाट चाहेजति अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाए।

हाल ६० बेड कोरोना संक्रमितको लागि सञ्चालन गरिरहेको जानकी मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले बेड संख्या बढाउन आग्रहसमेत गरे।

प्रदेश सरकारले जनकपुरधाम १४ स्थित निर्माण हुँदाहुँदै रोकिएको मनिपाल मेडिकल कलेजको निर्माणाधीन भवनको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गरेका छन्।

युद्धस्तरमा निर्माणधीन उक्त अस्पतालको काम समयमै सम्पन्न गर्न मुख्यमन्त्री राउतले निर्देशन दिए। 

निरीक्षणको क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान् झाले जेठ १५ अगावै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.