|

बैतडी : बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा छन्। संघीय सरकारले गत वर्ष नै बजेट बिनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा रहेका हुन्।

संघीय सरकारले गत माघ मै स्थानीय तहहरुमा पाँच बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहहरुले मेडिकल अधिकृत पाउन सकेका छैन।

अस्थायी कोरोना अस्पतालमा आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको स्थानीय तहहरुले जनाएका छन्। जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा डाक्टरका लागि तीन पटक आवेदन आह्वान गरेको भएपनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ।

चिकित्सकको लागि तीन पटकसम्म आवेदन आह्वान गरेको भएपनि कसैको दरखास्त नपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ। तर सिगासमा अहिले एकजना स्टाफ नर्स मात्र कार्यरत छन्।

जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि तीन पटक जनशक्ति माग गरिए पनि नपाएको जनाइएको छ। सुर्नया गाउँपालिकाले वासुलिंग स्वास्थ्य चौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भएपनि चिकित्सक नपाउँदा एक जना नर्स मात्रै रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन्। कोभिडका बिरामीहरु बढ्दै गएपनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सककै अभाव छ। यसले गर्दा उनीहरुको उपचारमा समेत समस्या भइरहेको छ।

स्थानीय तहहरुमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका संक्रमितको पनि स्थानीयस्तर मै उपचार गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीहरुको उपचारका लागि गत वर्ष नै अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको १० लाख बजेट मध्ये स्थानीय तहहरुले पाँच लाख बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरिद गर्नुपर्ने बताइएको थियो।

यस्तै चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ। दशरथचन्द नगरपालिका बाहेकका अन्य सबै स्थानीय तहमा ती अस्पताल सञ्चालनमा रहेका हुन्। बैतडीमा हाल ९ सय बढी कोरोनाका सक्रिय संक्रमित छन् भने ११ जनाको मृत्यु भइसकेको छ। 

४६ स्वास्थ्यकर्मीलाई कोरोना

यस्तै कोरोना भाइरस संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत उक्त संक्रमणको चपेटामा परेका छन्। बैतडीमा हालसम्म ४६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जसमा सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १६ र पुर्चौडी नगरपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको छ। यसका साथै पाटन नगरपालिकाका ११ सिगास गाउँपालिकाका दुई। मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकाका १–१ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकामध्ये अधिकांश संक्रमणमुक्त भइसकेको छन्। सक्रिय संक्रमित अवस्थामै रहेका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए।

कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि समस्या भएको छ। उनले भने,‘कोभिडको क्षेत्रमा प्रत्यक्ष रुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ,संक्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन्।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.