भन्छन् : आफूहरूसँग सल्लाह नै नगरी पठाइयो

|

जनकपुरधाम : जनकपुरधामदेखि जलेश्वर मात्र १४ किलोमिटर छ। तर १० दिन बित्न लाग्दा पनि प्रदेश सरकारले पठाएका तीन जना डाक्टरले उक्त दूरी पार गर्न सकेका छैनन्। 

महोत्तरीको जलेश्वर अस्पतालमा एक वर्षदेखि थन्केर राखिएको करोडौं लगानीमा जडान गरिएको आइसियु र भेन्टिलेटरसहितको सेवा सञ्चालन गर्न प्रदेश २ सरकारले उनीहरूलाई जलेश्वर अस्पताल पठाएको थियो। 

प्रदेश सरकारले वैशाख २७ गते १ जनालाई र २८ गते २ जना गरी तीन जना डाक्टरलाई त्यहाँ पठाएको थियो। उनीहरू  नवौ तहका फिजिसियन डा.रवि रंजन प्रधान, सहायक पाचौं एनेस्थेसिया शैलेन्द्र कुमार यादव र मेडिकल अधिकृत डा. सन्त कुमार यादव हुन्। उनीहरूलाई कामकाजका लागि जलेश्वर अस्पताल पठाएइको भनी पत्र काटिएको थियो। तर खटाइएको ठाउँमा उनीहरू अहिलेसम्म नपुगेका जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेले जनाए।   

जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेले एक हप्तासम्म डाक्टरहरूलाई पर्खेर बसे पनि उनीहरू उपस्थित नभएपछि जेठ ४ गते मंगलबार फेसबुकमा 'डाक्टरहरू हराएको' भन्दै खोजी सुरु गरे। प्रदेशले काटेको कामकाजको पत्र राख्दै तीनै जना डाक्टर सम्पर्कमा नरहेको भनी उनले लेखेका थिए।

यस सन्दर्भमा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवसँग बुझ्दा उनले यस शुक्रबार बिदा परेको र शनिबार पनि बिदा नै भएकोले यता मिलाएर एक दुई दिनमै जलेश्वर अस्पतालमा हाजिर हुने विश्वास व्यक्त गरे।

तर जलेश्वर अस्पतालमा कामकाजका लागि पठाइएका डाक्टरहरू भने आफूहरूसँग सल्लाह नै नगरी काजमा जलेश्वर पठाएको भन्दै रुष्ट छन्। उनीहरूले हिजोसम्म प्रादेशिक अस्पतालमा नै ड्युटी गरिरहेको र जहाँ गएर पनि बिरामीहरू कै सेवा गर्ने भएकोले १–२ दिन मा जलेश्वर पुग्ने बताए।

नवौं तहका फिजिसियन डा. प्रधानले भने, ‘बिहीबारसम्म प्रादेशिक अस्पतालको ड्युटी नै गरिरहेको थिएँ। जहाँ गए पनि बिरामीकै सेवा गर्नुपर्ने भएकोले जलेश्वर जान कुनै आपत्ति छैन।’ उनले आइतबार सम्म जलेश्वर पुगेर सेवा दिन आफूले तयारी गरेको बताए।

त्यसैगरी मेडिकल अधिकृत डा. सन्त कुमार यादवले वैशाख २८ गते काटिएको पत्र आफूले जेठ ३ गते मात्र प्राप्त गरेको बताए। उनले भने, ‘गत वर्ष ५ जनाले आइसियु संचालनको तालिम लिएका थिए। तर तालिम लिएकालाई नपठाएर मलाई किन पठाएको बुझ्न सकिनँ। मसँग त आइसियुमा काम गरेको अनुभव नै छैन। त्यतिकै हचुवाको भरमा मलाइ पठाउन खोजेको रै'छ।’

हाल एनआइसियुमा ड्युटी गरिरहेका डा.सन्तले जलेश्वरमा भेन्टिलेटर र आइसियु संचालन गर्नुपर्ने भएकोले उक्त उपकरण संचालनका लागि दक्ष जनशक्ति पठाउँदा सेवा प्रवाहमा फाइदा पुग्ने बताए। यस्तोमा आफूलाई पठाइएको बारे उनले बुझ्नै गाह्रो भएको प्रतिक्रिया दिए। 

त्यस्तै एनेस्थेसिया सहायक पाचौं रहेको यादवले पनि भेन्टिलेटर संचालन गर्न एमडी एनेस्थेसिया चाहिने भए पनि योग्यताभन्दा माथिको जिम्मेवारी एनएमसीको आचारसंहिताले समेत नदिएको बताए। उनले भने, ‘ म एनेस्थेसिया सहायक पाँचौं भएकोले असिस्ट गर्न सक्छु, तर संचालन नै गर्न एमडी एनेस्थेसिया नै चाहिन्छ।’

यद्यपि नेपाल सरकारको सेवामा रहेको हुँदा काज पठाएको स्थानमा आफूलाई जान आपत्ति नभएको उनको भनाइ थियो। जलेश्वर अस्पतालमा एक दुई दिनमा पुगेर आफ्नो योग्यताले भ्याएसम्म काम गर्ने पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.