|

काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञाको अवधि थप गर्ने विषयमा छलफल गर्न आज तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार आजको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ। यसअघि जारी निषेधाज्ञा भोलि सकिँदैछ। तत्कालका लागि थप कडाइका साथ एक हप्ता निषेधाज्ञा थप गर्ने र दण्ड/जरिवाना समेत कार्यन्वयन गर्ने गरी निर्णय हुने बस्नेतले बताए।

यसअघि मापदण्डको पालना गर्न आग्रह मात्रै गरिँदा कतिपय स्थानमा तरकारी पसल लगायतमा भिडभाड नरोकिएकोले अब अनिवार्य पालना गर्नुपर्ने र नगरेको पाइएमा कानुन अनुसार दण्ड सजाय गर्ने बस्नेतले बताए।

काठमाडौं जिल्ला प्रशासनले त हिजो नै सार्वजानिक सूचना जारी गर्दै हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइसकेको छ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.