|

सर्लाही : लालबन्दी नगरपालिका-७ को  माछा बजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएकाे छ। सामान्य पानी पर्दा पनि हिलाम्मे हुने र फोहोर व्यवस्थापनसमेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको हाे।

नगरपालिका-७ को भित्री बजारमा सोमबार र बिहीबार बजार लाग्ने गर्दछ। बजार व्यावस्थापन समिति रहेपनि व्यवस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्न जानेहरू पनि हैरान भएका छन्।

भाँडाकुँडा, खाद्यान्न तथा कपडाहरू र श्रृङ्गारका सामानहरुको स्थायी सटरहरु बनाइएका भएपनि पशुपंक्षी तथा तरकारी र माछामासुका लागि भने बाहिरै राख्नु पर्ने बाध्यता रहेको र ती सामग्रीहरुबाट निस्केका फोहोरको व्यावस्थापन गर्न सरोकारवाला निकाय बजार व्यावस्थापन समिति र वडाध्यक्षले चासो नदेखाउँदा आफूहरु दुर्गन्धित बजारमा व्यापार गर्न बाध्य भएको व्यापारीहरूको गुनासो छ।

आफूहरुले व्यापार व्यावसाय गरेवापत समिति, वडा कार्यलय र विद्यालयलाई कर समेत बुझाइरहेको व्यापारीहरुले बताएका छन्। यस क्षेत्रमा लगाइने बजार जनज्योति मावि लालबन्दीको जमिन रहेको र उसले बजार बसाएर कर लिने गरेको छ।

सो बजारमा करीब आठ सय स्टलहरू रहेका र प्रति सटरको प्रति फिट नापेर विद्यालयले कर असुल्ने गरेको छ। सटर नहुने र अस्थायी रुपमा बस्नेहरुका लागि भने समितिले हप्ते कर असुल्ने गरेको छ। यसरी कर तिरेर आफूहरु बसेको भएपनि समिति र विद्यालयले कुनै व्यवस्था नगरिदिँदा वर्षामा घुँडा घुँडा पानी जम्ने गरेको व्यापारीहरूको गुनासो छ।

तरकारी तथा मासु पसलबाट निस्कने फोहाेरका साथै बजारभरिको फोहोर समेत जथाभावी रुपमा फालिने गरेकाले दुर्गन्ध बढ्दा बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरु पनि नाक मुख थुनेर हिड्न बाध्य भएका छन्।

आफूले सरोकारवाला निकायहरुको बैठकहरूमा बजार व्यवस्थापनका लागि कुरा उठाउने गरेको भएपनि नगरपालिकालगायत अन्य सरोकारवाला निकायहरुले चासो नदेखाएका उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए।  

 बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र योञ्जनले आफूहरुले काम गरिरहेको र अब ढल निकासको काम बाँकी रहेको बताए। ढल निकायका लागि ७ वडा कार्यालयले आवश्यक सहयोग नगरेको कारण समस्या सिर्जना भएको र चाहेर पनि आफूले ढल निकायको काम गर्न नपाएको उनकाे गुनासाे छ।

जनज्योति मावि लालबन्दीका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनिस माझीका अनुसार विद्यालयले करिब चार सय ५० वटा सटर र स्टलबाट प्रतिमहिना रु ५०० देखि एक हजार ५०० सम्म शुल्क उठाउने गरेको र बार्षिक करिब ७५ लाख रकम सङ्कलन हुने गरेको बताए। 

ढल निकाय नहुँदा सो क्षेत्रमा व्यापारीहरु र सामान खरीद गर्न आउने सेवाग्राहीलाई हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेका कारण समस्या भएको भएपनि बजार व्यवस्थापन समिति र विद्यालयबीच तालमेल नमिल्दा काम हुन नसकेको उनले बताए।  

त्यसैगरी ७ वडाका वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपानेले बजार व्यवस्थापन र सुन्दर बजार बनाउन विभिन्न कामहरु भइरहेको जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.