|

मकवानपुर : नेपाली कांग्रेस मकवानपुरले जिल्लाको विकट राक्सिराङ गाउँपालिकाका एकहजार घरपरिवारलाई खाद्यान्‍नसहित राहत सामग्री सहयोग गरेको छ।

कांग्रेस मकवानपुरले बिहिबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारको लागि राहतस्वरुप खाद्य सामग्री सहयोग गरेको हो। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँबराबरको सामग्री गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको छ।

राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ तथा दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समुदायका स्थानीयलाई खाद्यान्न सहयोग गरिएको कांग्रेस मकवानपुरले जनाएको छ।

राहत सामग्री हस्तान्तरण गर्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले महामारीको समयमा जनता रोग र भोकको  शिकार बनिरहँदा सरकार सत्ता जोगाउन मात्रै व्यस्त भएको आरोप लगाइन्। उनले अप्ठेरोमा परेको बेलामा जनतालाई सहयोग गर्न नेपाली कांग्रेस मात्रै जनताको घरदैलोमा पुगेको पनि दाबी गरिन्। 

यस्तै, कार्यक्रममा बोल्दै नेता बानियाँले वर्तमान सरकार जनताप्रति उदासिन रहेको भन्दै सरकारसँग पैसा भए पनि सहयोगको भावना र योजना नभएको आरोप लगाए। नेता बानियाँले आफूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पटकपटक जनता रोगले भन्दा भोकले मर्ने भए सहयोग गरौं भन्दा कुनै तत्परता नदेखाएको दाबी गरे।

विकट बस्तीका चेपाङ र तामाङ समुदायका विपन्न र गरिब जनताका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबाट एक लाख रुपैयाँ सहयोग उपलब्ध भएको नेता बानियाँले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.