|

हेटौंडा : मकवानपुरको हेटौंडामा प्रशासनको नियम उल्लंघन गरेको बरोपमा व्यवसायी र अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित बोक्न सञ्चालन भएको अटो एम्बुलेन्सले खाद्यान्न बोकेको र भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको भन्दै ३ जना व्यवसायी तथा एकजना अटो एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा हेटौंडाका व्यवसायी हिरालाल शाह, सुवासराज मैनाली र बमबहादुर थापा रहेका छन् भने अटो चालक रवीन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा अव्यवस्थित रुपमा भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको पाइएपछि ३ जना व्यवसायीलाई पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको टोलीले भिडभाड नगरी व्यवसाय गर्न दिएको निर्देशनलाई वेवास्ता गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको रिमालले बताए।

त्यस्तैगरी, अनुगमनकै क्रममा निषेधाज्ञामा कोभिडको बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्सको दुरुपयोग गर्ने अटो एम्बुलेन्सलाई पनि नियन्त्रणमा लिइएको छ।

अनुगमन टोलीले हेटौंडा १० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरु बोकेको अवस्थामा अटोलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालयले हेटौंडा–३ नम्बर वडाको निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.