|

हेटौंडा : मकवानपुरको हेटौंडामा मेयरको निर्देशनमा रोकिएको खोप अभियान पुनः सुचारु गरिएको छ।  प्राविधिक कारण भन्दै मेयरको निर्देशनमा रोकिएको कोरोना भाइरसविरुद्वको खोप लगाउने कार्य पुनः सुचारु गरिएको हो

बुधबारबाट हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाबाट कोरोना भाइरसविरुद्वको भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएको थियो।

तर, अन्तिम समयमा आएर हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले अर्को सूचना नआएसम्मको लागि खोप अभियान स्थगित गरेका थिए। जसले गर्दा खोप लगाउन टाढाबाट आएकाहरु अन्यौल भएर घर फर्किनु परेको थियो।​

​मेयर महतको खोप अभियान स्थगित गर्ने निर्णयको सबैतिर विरोध भएपछि अहिले हेटौंडाको सबै वडामा खोप लगाउने कार्य सुरु गरिएको हो।  हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले सबै उमेर समूहलाई खोप लगाउनु पर्ने भन्दै दबाब आएकोले खोप अभियान रोक्ने निर्णय गरिएको बताइन्।

उनको अनुसार हाल ६२ देखि ६४ वर्ष उमेर समूहलाई मात्रै लगाउनको लागि खोप आएको भए पनि सबै उमेर समूहलाई खोप लगाउनु पर्ने भन्दै उपमहानगरमा दबाब आएको थियो। सबैलाई लगाउन पुग्ने खोप नभएकोले तत्कालको लागि खोप अभियान रोक्ने निर्णय भएको र सबैतिरबाट यसको विरोध भएपछि पुनः खोप लगाउने कार्य सुरु गरिएको उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.