|

काठमाडौं : मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन्।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका हुन्। पूर्वतयारी, उद्धार, पुनर्स्थपना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरूले बताए।

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको बताए। विपदको घटना घट्ने ठाउँको नक्सांकन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। ७७ वटै जिल्लामा भएका गण तथा गुल्महरूबाट १ तिहाईको जनशक्ति फौजलाई विपद व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उनले  बताए।

खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधनसहित दक्ष जनशक्ति परिचालन गरिने उल्लेख गरे। नेपाल सेनासँग तालिमप्राप्त दुई वटा विशेष युनिट भएको उल्लेख गर्दै उनले ती युनिटलाई विपतको समयमा परिचालन गरिने जानकारी दिए।

जलसम्बन्धी उद्धारका लागि २ सय वटा बोटहरू तयारी अवस्थामा राखिएको पनि उनले बताए। 'विपदको समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरू ओसार–पसार गर्न तथा उद्धार गर्न पश्चिममा सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाई साधन तयारी अवस्थामा राखिनेछ',  प्रवक्ता पौड्यालले भने, ' विपद प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपद व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला विभिन्न निकायहरूसँग समन्वयमा काम गरिरहेका छौं।'

नेपाली सेनालाई उद्धारमा जाँदा कोभिड–१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने पनि उनले बताए।  साथै सेनालाई कोभिड – १९ विरुद्धको खोपमा पनि जोड दिने बताए। हालसम्म नेपाली सेनाका ५० हजार जवानले खोपको पहिलो मात्रा र २७ हजार जवानले खोपको दोस्रो मात्रा लगाइसकेको पनि उनले जानकारी दिए।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि विपतको प्रतिकार्य गर्न आफ्नो तयारी पुरा भएको बताएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले पूर्वतयारीका सम्पूर्ण काम पूरा गरीसकेको जानकारी दिए।

केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उनले बताए। 'खतरायुक्त ठाउँको नक्सांकन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो त्यसैअनुसार जनशक्ति परिचालन गरिएको छ।

सशस्त्रमा विपत व्यवस्थापनको तालिम लिएको जनशक्ति १९१८ जना रहेको र सो जनशक्तिलाई प्रत्येक प्रदेशमा एक÷एक समूह, उपत्यकामा दुई वटा र विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुई वटा गरी १० वटा समूह परिचालन गरिनेछ', उनले भने',  त्यसको अलावा उपत्यकासहितका ८ वटा बाहिनी, गण, गुल्म, विओपी स्तर र अन्य बेसहरूमा पनि विपद व्यवस्थापनको लागि समूह तयारी अवस्थामा राखिएको छ।

तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ। 'डुबानको अवस्थमा उद्धारका लागि ७० वटा बोटहरू तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउन १३ वटा हेभी इक्युपमेन्टहरू परिचालन गरिसकिएको छ', अर्यालले भने, 'राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण पनि गरिएको छ।'

यस्तै, नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले विपतको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताए। प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम बढाइसकिएको उनले जानकारी दिए। विपतको समयमा प्रहरी संगठनभित्र रहेको साधन, स्रोतलाई अधिकृत प्रयोग गर्ने उनको भनाइ छ।

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरूलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताए। ' स्थानीय स्तरमा प्रहरी सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौं', उनले भने, ' मुख्य तथा सहायक राजमार्गहरूलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रित गरेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.