|

रुकुम पूर्व : भूमे गाउँपालिका‐६ महत गाउँमा नयाँ गाउँले मुखियामा खमबहादुर बुढा मगरलाई चयन गरिएको छ। 

गाउँको नेतृत्वका लागि हरेक वर्षको नयाँ आर्थिक वर्षसँगै महतमा नयाँ गाउँले मुखिया अर्थात् गाउँ खरदरी समिति मुखिया चयन गर्ने प्रचलन छ। जसअनुसार आर्थिक वर्ष २०७८÷०७९ का लागि महत गाउँले मुखियामा बुढा मगरलाई चयन गरिएको हो। 

कालाङ्गा डेराबाट नयाँ मुखिया बुढालाई चयन गरी १५ सदस्यीय टिम बनाइएको स्थानीय कमल बुढा मगरले जानकारी दिए। चालु आर्थिक वर्षका मुखिया सर्वजित बुढा मगरसहित १५ जनाको पुरानो टिमलाई स–समानसहित बिदाइ गरी नयाँ टिमलाई स्वागत गरिएको बुढाले बताए।

पशुपालनका लागि वनको रेखदेख, संरक्षण तथा समानुपातिक वितरण जानकारीका साथै गाउँलेको नेतृत्वका लागि गाउँ खरदरी समिति तथा गाउँले मुखिया चयन गर्ने परम्परा छ। हरेक वर्ष चयन हुने गाउँ खरदरी समितिले नै चौपायलाई थुनुवा वनमा राखे बापत बैठकको निर्णयअनुसार बनाउलो (कर)को रेटदर निर्धारण गरी उठाइएको कोषमा जम्मा गर्छ। उक्त रकमबाट पूजापाठसँगै विकास निर्माणका कार्य लगानी गर्ने गरिएको बुढाले बताए।

गाउँले मुखियाको अधीनमा रही गाउँको रीतिथितिअनुसार परिचालित हुनु पर्ने हुन्छ। चालु आर्थिक वर्षका मुखिया सर्वजित बुढा मगरको टिमले बिदाइ हुँदै गर्दा महतमा बन्दै गरेको बृहत् खेलमैदान जग्गा व्यवस्थापनका लागि ५५ हजार रुपैयाँ स्वेच्छिक सहयोग समेत गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.