मोबाइल चार्ज गर्न पनि पाएनन् उपभोक्ताले

|

भोजपुर : भोजपुरमा ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। बिनासूचना पटक पटक विद्युत् अवरोध भइरहँदा उपभोक्ता आक्रोशित भएका छन्। 

विद्युत् अवरुद्ध भएपछि सदरमुकाम तथा स्थानीय तहका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक पसल, कलकारखाना  रेडियो स्टेसनलगायत प्रत्यक्ष मारमा परेका छन्।

झ्याप्प आउने फेरि तत्कालै विद्युत् अवरोध भइदिने समस्याले विद्युतीय उपकरणमा समेत क्षति हुने गरेको सेवाग्राहीको भनाइ छ। दिनमा दुई दर्जन बढी समय विद्युतमा अवरोध हुने भए पनि सेवाग्राही समस्याको विषयमा अनभिज्ञ रहेका छन्।

जिल्लाबाट दुई वटा जलविद्युत् आयोजना सञ्चालनमा रहेका भए पनि त्यसको लाभ भोजपुरबासीले लिन नपाएका स्थानीय सागर कुमार राईले बताए। राईले भने, ‘महिनौंदेखि विद्युतमा समस्या आइरहेको छ। कतिबेला आउँछ कति बेला जान्छ पत्तो छैन। लामो समयदेखि समस्या हुँदा पनि सरोकारवाला पक्ष मौन छन्। तत्काल यस समस्याको समाधानमा ध्यान जाओस्।’

सेवा अनियमित हुनुमा विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रको चरम लापरबाही रहेको गणेशथान दुग्ध उद्योग भोजपुरका सञ्चालक ज्ञान बहादुर कार्कीले बताए।

‘सेवा अवरोध हुनुमा प्राधिकरणको लापरबाही देख्छु। लोडसेडिङ हो भने तालिका दिनुपर्‍यो। होइन भने यसरी जनतालाई दुःख दिन मिल्छ?’ कार्कीले भने,‘ हामीले विद्युत् सित्तैमा मा बालेको त हैन नि, तर सेवा देख्दा अचम्म लाग्छ। विद्युत् अवरोध हुँदा व्यावसायमा नै समस्या छ, विद्युतका कारण सेवाग्राही मारमा छन् खोइ यसतर्फ कार्यालयको ध्यान गएको? महिनौंबाट यस्तो समस्या छ अनि।’

दैनिकजसो समस्या आएपछि स्थानीयले सामाजिक सञ्जालमार्फत विद्युत् प्राधिकरणको सेवाप्रति प्रश्न उठाएका छन्। सदरमुकाममा समेत स्थानीयले विद्युत् सेवाको राम्रो उपभोग गर्न पाएका छैनन्।

यता ग्रामीण भेगमा विस्तार भएको विद्युत् सेवाको अवस्था झन् नाजुक रहेको  टेम्केमैयुङ गाउँपालिका– ५ का स्थानीय एकराज विष्टले बताए। हप्तामा एक दिन पनि विद्युतको सेवा लिन नपाएको उनको गुनासो छ।

विष्टले भने, ‘विद्युतको तार विस्तार भएको छ। नियमित रुपमा महसुल तिरेका छौँ। तर महिना दिनमा चार दिन पनि राम्रोसँग बिजुली बाल्न पाएको अवस्था छैन। कति बेला आउँछ कति बेला जान्छ, पत्तो नै हुँदैन। प्राधिकरणलाई फोनबाट जानकारी गराउँदा पनि वास्ता नै गर्दैनन्। अब यो समस्या कसलाई सुनाउनु, आइहाल्यो भने बाल्ने हो नत्र यतिकै बस्न बाध्य छौँ।’

विद्युतका कारण विद्याथीहरूको अनलाइन कक्षा लिनसमेत समस्या भएको छ। विद्युत सेवा अवरोध हुँदा विद्यार्थीहरूले पढ्न नपाएका अभिभावकहरूले गुनासो गरेका छन्।

जन सेवा आधारभूत विद्यालय भोजपुरका शिक्षक नवराज लुईंटेलले भने, ‘विद्युत् सेवा अवरोध हुँदा विद्यार्थीहरूले शिक्षासमेत लिन पाएका छैनन्। विद्युत् नभएपछि उनीहरूलाई कसरी अनलाइन अध्यापन गराउने हामीलाई पनि समस्या छ। विद्युत्लाई नियमित बनाउन सरोकारवाला पक्षको किन ध्यान नभएको होला ? दैनिकजस्तो भर्चुअल तालिम हुन्छ, त्यस्ता तालिम लिन पनि समस्या छ। यो समस्याको समाधान ध्यान दिन जरुरी छ।’ विद्युत्का कारण मोबाइल चार्ज गर्नसमेत  स्थानीय नागरिकलाई समस्या भएको छ।

यता नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले भने वर्षा, हावाहुरी तथा ओभरलोडका कारण विद्युतमा समस्या भएको जनाएको छ। स्थानीय हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् व्यवस्थापन गर्न समस्या भएको कारण अवरोध हुने गरेको कार्यालयको भनाइ छ।

कार्यालय प्रमुख सुधीर कुमार रायले भने, ‘हाम्रो सिस्टमले लोड व्यवस्थापन गर्न नसक्दा विद्युतमा समस्या छ। वर्षातको समय लाग्यो स्थानीयस्तरमा सञ्चालनमा रहेका पावर हाउसको उत्पादन क्षमता बढेको छ। उनीहरूले उत्पादन गरेको विद्युत्को व्यवस्थापन तथा खपत नहुँदा यो समस्या देखिएको छ। यसको निराकरणका लागि काम गरिरहेका छौँ। कुनै अवरोध विना निरन्तर काम भएमा तीन महिनासम्ममा यो समस्या समाधान हुन्छ।’

प्रमुख  रायले भने, ‘हाम्रो जिल्लामा सबैभन्दा बढी विद्युतको माग १ हजार किलोवाट छ। यहाँको दुई वटा पावर हाउसबाट कम्तीमा पनि ५ र  बढीमा १३ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ। हाम्रो विद्युत् खपत कम भएको कारण यहाँको पावर हाउसले उत्पादन गरेको विद्युत् आन्तरिक रुपमा जिल्लामा वितरण गर्न पनि समस्या छ। थोरैमा पनि हाम्रो जिल्लाको खपत ३ मेगावट भएको भए आन्तरिक रुपमा  पनि वितरण गर्न सकिन्थ्यो। त्यसले पनि हालको समस्या समाधान भूमिका खेल्ने थियो त्यो पनि सम्भव भएन।’

भोजपुरमा १८ हजार अर्थात् ५३ प्रतिशत नागरिक केन्द्रीय विद्युत् पहुँचमा रहेको कार्यालयले जनाएको छ। यहाँ हिले–भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइनअन्तर्गत १९ कात्तिक २०६७ देखि निर्माण सुरु भएको राष्ट्रिय प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै विद्युत् सेवा विस्तार भएको हो।

दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाको करीब १० प्रतिशत भू–भागमा मात्र विद्युत् विस्तार भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। भोजपुर नगरपालिकाको सबै वडामा नै विद्युत् पुगेको भएपनि केही वडाका सबै घरपरिवारमा पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उप–प्रमुख ममिता राईले जानकारी दिइन्।

यता षडानन्द नगरपालिकाका करिब ७० प्रतिशत क्षेत्रमा विद्युत् विस्तार भइसकेको र अन्य क्षेत्रमा पनि विस्तारको काम भइरहेको नगरपालिकाले जनाएको छ।

साल्पासिलिछो, आमचोक र अरुण गाउँपालिकाको केही वडामा विद्युत् विस्तार भए पनि अधिकांश ठाउँमा विद्युत् पुग्न सकेको छैन। ती स्थानीय तहले पनि सबै ठाउँमा विद्युत् विस्तार गर्ने लक्ष्यका साथ योजना बनाएर काम अगाडि बढाएको बताउने गरेका छन्।

पौवादुङमा गाउँपालिकामा करिब चार करोड लागतमा बोलपत्र आह्वान गरी उज्यालो गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ विद्युत् विस्तार भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.