|

बैतडी  : नेपाली कांग्रेसकाे महाधिवेशनकाे मिति नजिकिँदा जिल्लास्तरमा पनि नेता कार्यकताहरु तयारीमा जुटेका छन्। 

१४ औं महाधिवेशनको र वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक भएसँगै  जिल्लामा पनि अधिवेशनको तयारी थालिएको हो।  

केन्द्रीय कार्यसमितिले कार्यतालिका सार्वजनिक गरेसँगै जिल्लामा पनि अधिवेशनको तयारी थालिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए। 'वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक छ', उनले भने,‘जिल्लामा पनि हामीले सोहीअनुसार तयारी थालेका छौं।’

हाल देशभरी क्रियाशील सदस्यता तथा नवीकरणका विषयमा विवाद रहेकोले त्यो टुंगिएपछि जिल्लामा अझैं चहलपहल बढ्ने चन्दको भनाई छ। ‘असार  २० गते केन्द्रीय समितिले विवाद टुंगो लगाउने कुरा छ त्यसपछि निर्वाचन समितिले २४ गते सार्वजनिक अन्तिम क्रियाशील सदस्यको नामावली प्रकाशन गर्ने तयारी छ’, उनले भने,‘अन्तिम नामावली प्रकाशनपछि जिल्लामा झनै चुनावी सरगर्मी बढ्छ, अहिले पनि कसरी अधिवेशन सम्पन्न गर्ने भनेर आन्तरिक तयारीमै छौं।’

कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका-नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गरिने भनेर सार्वजनिक गरिसकेको छ। महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म हुने छ। 

सार्वजनिक कार्यतालिका अनुसार बैतडीमा साउन २३ गते जिल्ला अधिवेशन सम्पन्न हुनेछ। जिल्लामा हाल ६ हजार ५ सय क्रियाशील सदस्य रहेका छन्। 

कांग्रेसमा पनि गुटउपगुट रहेका भएपनि सकेसम्म सर्वसम्मत  रुपमा नेतृत्व चयन हुने सचिव चन्दले विश्वास व्यक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.