|

काठमाडौ : इजरायलबाट ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटेड, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका स्वास्थ्य सामग्रीहरू नेपाल आइपुगेका छन्।

इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको  पहलमा इजरायलबाट नेपाल पठाइएका यी उपकरणहरू नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’मार्फत बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्। 

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरू तथा नेपालका लागि इजरायली राजदूत हनाई गोडेरसहितको टोली पुगेको र उनीहरूलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ।

नेपाल आएका  स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरू, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीहरूबाट सहयोग स्वरुप प्राप्त भएका हो। राजदूत  शाक्यका अनुसार करिब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्नेछ। 

कोभिड—१९ सँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताइन्। 
विश्वमा पहिलो ‘मास्क फ्री’ देशका रुपमा इजरायलले घोषणा गरेको थियो । इजरायलमा कोरोना करीब करीब नियन्त्रणमा आइसकेको र त्यहाँका जनताले मास्क लगाएर हिँड्नु नपर्ने अवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.