|

पर्वत : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हालै बनेको कांग्रेस नेतृत्वको नयाँ प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको आरोप लगाएका छन्।

एमाले संसदीय दलको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका हुन्। गुरुङले चालु रहेका योजनामा सरकारले ध्यान नदिएर बिना योजनाका ठाउँमा पैसा बाँडेर कार्यकर्ता पाल्ने काम भइरहेको आरोप लगाए।

यसअघि गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदाजाँदै बिनायोजना चार अर्ब ५१ करोड रुपैयाँ बराबरको ठेक्का लगाएको आरोप पोखरेल नेतृत्व सरकारले लगाएपछि निवर्तमान मुख्यमन्त्री गुरुङले अहिलेको सरकारले भ्रष्टाचार गरेको भनेर उत्तर फर्काएका हुन्।

‘उहाँहरूले १६ करोड बजेटमा नआएको, विकासको कार्यक्रममा नपरेको र गैर बजेटमा खर्च गर्ने भनेको भ्रष्टाचारको पहिलो सुरुवात हो, उनले भने, ‘उहाँहरूले भ्रष्टाचारको सुरुवात गरिसक्नुभाछ। अस्ति भर्खर आएको सरकारले त्यत्रो १६ करोड रकम रकमान्तर गरेर चाहिने विकास निर्माणमा खर्च नगरेर पालिकालाई दिएको छैन।’

गुरुङले आफू नेतृत्वको सरकार हुँदा नियम, कानुन विधि र प्रक्रिया पुर्‍याएर काम गरेको दाबी गरे। नयाँ बनेको सरकारले लगाएको आरोप झुटो भएको उनले पत्रकार सम्मेलनमा जिकिर गरे।

प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत एक सडक, पालिकादेखि केन्द्र जोड्ने सडक र रणनीतिक महत्त्वका सडक लगायतका योजना बहु वर्षीय योजनाहरू अन्तर्गतका रहेका बताउँदै गुरुङले सबै ठेक्का कानुन बमोजिम लगाइएको उल्लेख गरे।

विकास निर्माणका कुरामा राजनीति नगर्न पनि उनले अनुरोध गरेका छन्। आफ्नो नेतृत्वको रहेको पूर्व प्रदेश सरकारले सबै कामकारबाही खुला र पारदर्शी रूपमा गरेको गुरुङले बताएका छन्।

पोखरेल नेतृत्वमा नयाँ सरकार बनेकै बेलामा मनाङ र लमजुङमा बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको थियो। त्यही बेला प्रदेश सरकारले रकमान्तर गरेर पीडितलाई राहत तथा उद्धारको काम गरेको बताएको थियो।

रकमान्तर गरिएको विषयलाई भ्रष्टाचारसँग जोडेपछि सरकारले भने त्यसको खण्डन गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.