माधव समूह भन्छ : ‘संसद् जोगाउनतिर लाग्छौं

|

काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि बनेको विपक्षी गठबन्धनको प्रयास सफल भएको छ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन्। 

देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै अब कार्यकाल कस्तो रहन्छ भन्नेमा चर्चा हुन थालेको छ। एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन पाएर संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका देउवालाई अबको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। 

संसद् पुनःस्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल समूहले विश्वासको मत दिएको अवस्थामा मात्रै देउवा सरकार पूर्ण कार्यकाल रहन्छ। तर, एमाले विवाद समाधानको प्रयास जारी रहिरहेका बेलामा देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि गठबन्धन छाडेर एकता जोगाउन लाग्ने प्रयत्न गरिरहेका छन्। 

तर, एमाले एकता जोगाएर अघि जाने र देउवालाई विश्वासको मत दिने भन्नेबारे नेपाल समूहसमेत विभाजित बन्न पुग्ने परिस्थिति आउने आकलन गर्न थालिएको छ। देउवा भने नेपाल समूहले विश्वासको मत दिनेमा विश्वस्त छन्।

तर पार्टी एकताको पहल भइरहेकाले अब संस्थागत निर्णय हुने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। भन्छन्, ‘अहिले हामी पार्टी एकता जोगाउन लागिरहेका छौँ। अब अध्यक्ष ओली र नेता नेपालको निर्णयबाट नै देउवालाई विश्वासको मत दिने या नदिने भन्ने संस्थागत निर्णय हुन्छ।’

पार्टी एकता नै गरेर अघि जानुपर्ने उनको मत छ। ‘हामी कहिल्यै पार्टी एकताको विपक्षमा छैनौँ। कार्यदलले एकखालको सहमति बनाएको छ। हामी त्यहीअनुसार सहमति गरेर अघि बढ्छौँ’ पन्तको भनाइ थियो।

ओलीको आक्रोश !

तर, दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल गरिरहेको बेलामा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एमालेका नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको दाबी गरिरहे। 

नेता नेपालकै कारणले आफू नेतृत्वको सरकार बहिर्गमन भएको दाबी गरेका ओलीले बालुवाटार छाडेर निजी निवास बालकोट पुगेर नेता नेपालप्रति रोष प्रकट मात्र गरेनन् उनलाई 'गद्दार' करार गर्न भ्याए। 

सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘पार्टी समक्ष आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अरुलाई एकपटक पार्टीले मौका दिन सक्छ। तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीले स्वीकारेर भित्र्याउने कुनै पनि ठाउँ छैन।’

ओलीले नेता नेपाललाई विश्वासघाती भएको आरोप लगाउँदै लाज सरम हराएका मान्छेको रूपमा चित्रण गरिरहे। ओलीको भनाइ थियो, ‘जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन। देश र जनताको काम गर्दागर्दै जाली झेलीहरूको जालझेलका कारणले अदालतमा मुद्दा हालेर हटाइयो।’ 

‘संसद् जोगाउनतिर लाग्छौँ’ 

संसदबाट प्रधानमन्त्री नियुक्ति गर्न सक्ने अवस्था हुँदाहुँदै ओलीले संसद् विघटन गरेकाले विकल्प खोज्न बाध्य भएको नेता नेपालनिकट सांसद् विरोध खतिवडा बताउँछन्। भन्छन्, ‘हामीले संसद् जोगाउन जुन कदम चालेका थियौँ। अहिले सफल भएका छौँ। यसलाई पूर्ण कार्यकाल चलाउन हामीले सोहीअनुसार निर्णय लिन्छौँ।’

लोकतन्त्र र संविधानको पक्षमा उभिएको भएकाले देउवालाई विश्वासको मत दिने संकेत गर्दै भने, ‘संसद्लाई जोगाउन हामी जस्तोसुकै कदम चाल्न तयार छौँ।’

तर, पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति बनाएर एकताको प्रयास गरिरहेको छ। तर, पार्टी एकताको प्रयास गर्दैगर्दा नेता नेपाल समूहका कार्यदल संयोजक भीम रावललाई दबाब आएको उनले खुलासा गरेका छन्। 

उनले विज्ञप्ति नै सार्वजनिक गरेर भनेका छन्, ‘नेकपा एमाले एमालेको विभाजनको प्रयास नगर्न केही राजनीतिक दलको नेताहरूबाट मलाई दबाब र धम्की आइरहेको छ।’

निरन्तर वार्तामा

संसद् पुनःस्थापना गर्ने अदालतको फैसलापछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले पार्टी एकताको पक्षमा लाग्ने भन्दै गठबन्धनबाट बाहिरिएको बताएका थिए। तर, नेता नेपालले निरन्तर वार्ता गरिरहेका छन्। 

अध्यक्ष ओलीले बहिष्कार गरेको देउवाको सपथग्रहण कार्यक्रममा उपस्थित भएका नेता नेपालले आज बिहान माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरे। 

संसद् पुनःस्थापनापछि पार्टीभित्र विवाद छल्किरहेको बेलामा नेपाल र श्रेष्ठबीचको भेटवार्ता अर्थपूर्ण रुपमा लिन सकिन्छ। नेता नेपालले त्यसलगत्तै एमाले उपाध्यक्ष वामदेव गौतमसँग पनि भेटवार्ता गरेका थिए। 

नेता नेपालको अडानले ओलीको विघटन गरेको संसद् पुनःस्थापना भएको थियो। तर, विपक्षी गठबन्धनका नेताहरुले भने नेता नेपाल समूहले देउवालाई विश्वासको मत दिनेमा ढुक्क भइरहेका छन्। 

ओली सरकार बहिर्गमनमा सघाएका नेता नेपाल र प्रधानमन्त्री देउवाबीच पनि भेटवार्ता भएको छ। 

महन्थ पक्षको पुरानै अडान 

माधव पक्ष पार्टी एकताको पक्षमा लागे पनि देउवा सरकार जोगाउन निर्णायक बन्न सक्छन्, जसपा अध्यक्ष महन्थ ठाकुर। ओलीकै कारण पार्टी विभाजनको औपचारिकता कुरिरहेको जसपाभित्रका अध्यक्ष ठाकुर पक्षले देउवा सरकार जोगाउन सक्छ। 

अर्का अध्यक्ष उपेन्द्र यादव देउवाकै पक्षमा भए पनि अध्यक्ष ठाकुर ओलीकै पक्षमा छन्। अध्यक्ष यादवको कार्यकारिणि समितिमा बहुमत भएपनि संसद्मा १२ सांसद् मात्रै छन्। भने, अर्का अध्यक्ष ठाकुर पक्षसँग २० सांसद् छन्। 

प्रतिनिधि सभामा २७५ सदस्य छन्। एमालेका १२१ सांसद् छन्। प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १ सय ३६ सांसदको समर्थन चाहिन्छ। तर, देउवासँग १२५ सांसद् छन्। अब देउवालाई ११ सांसद् आवश्यक पर्छ। तर, देउवाको पक्षमा नेता नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए। 

तर, नेता नेपालपछि निर्णायक बनेका जसपा महन्थ ठाकुर समूह भने देउवालाई विश्वासको मत दिने पक्षमा छैन। जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘हामी अहिलेको अवस्थामा देउवालाई विश्वासको मत दिने पक्षमा छैनौँ। हामी अहिले जहाँ छौँ त्यही बस्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.